देश

५० बेडसम्मको आइसोलेसन वार्ड बनाउने जिम्मा सेनालाई

काठमाडौं, माघ २०–सरकारले चीनको हुबेई प्रान्तका ६ सहरमा रहेका नेपालीलाई स्वदेश ल्याइएपछि अलग्गै (क्वारेन्टाइन) राख्न सुरक्षित स्थानको खोजी थालेको छ । स्वदेश फर्काइएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राखिनेछ । स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले ठाउँ खोजिरहेका छन् । सेनालाई ५० बेडसम्मको आइसोलेसन वार्ड बनाउन जिम्मा दिने सरकारको तयारी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. दीपेन्द्ररमण सिंहको नेतृत्वमा आइतबार सबै सुरक्षा निकायका चिकित्सकहरूको टोलीले वैकल्पिक स्थानको अवलोकन गरेको थियो । सुरक्षा निकायका तालिम केन्द्र तथा अस्पतालमा एक सय ८० जना राख्ने क्षमता नभएपछि बेग्लै थप आइसोलेसन वार्ड बनाउने जिम्मा सेनालाई दिन लागिएको हो । स्वास्थ्य मन्त्रालयको समन्वयमा भएको बैठकमा सेनालाई यसको विस्तृत योजना सोमबार पेस गर्न भनिएको छ । नयाँ पत्रिकाबाट

Featured