देश

चीनसँगको हवाई सेवा बन्द गर्न सांसदको माग

काठमाडौँ, माघ १९-नेपाली कांग्रेसका सांसद रमेशजंग रायामाझीले कोरोना भाइरसको संक्रमणबाट चीनमा २ सय ५९ बढीको मृत्यु भइसकेको अवस्थामा चीन र नेपालको हवाई उड्डयन सेवा बन्द गर्न माग गरेका छन् । राष्ट्रिय सभाको बैठकको विशेष समयमा सांसद रायामाझीले कोरोना भाईरसको संक्रमण चीनमा भयावह रुपमा फैलिँदा १२ हजार बढी चिनियाँ कोरोनाबाट ग्रसित भएको र ५ हजार संक्रमित भएको आशंका गरिएको अवस्थामा चीनसँगको हवाई सेवा बन्द गर्न माग गरेका हुन् ।

‘भिजिट नेपालको नाममा रोग भित्र्याउनु हुँदैन । हाम्रो देशको चिकित्सकको जनशक्तिले यो भाइरललाई नियन्त्रण गर्न सकिँदैन’, रायामाझीले भने, ‘मुलुकको हिमाली जिल्लामा सिटामोल र्पुयाउन नसक्ने सरकारले विश्वका २५ देशमा फैलिएको कोराना नियन्त्रण गर्न सम्भव छैन ।’

विश्वको ४० वटा देशले चीनसँगको हवाई सम्वन्ध रोकेको अवस्थामा नेपालले किन नरोक्ने भनी रायमाझीले प्रश्न गरे । उनले रसुवाको बोर्डर १४ दिनको लागि बन्द गरिएजस्तै हवाई सेवा पनि बन्द गर्नुपर्ने बताए । उनले विगत धेरै वर्षदेखि चिकित्सक जनशक्तिका लागि एमडी रेसिडेन्टका लागि छात्रवृत्तिमा संयुक्त राज्य अमेरिका जान यूएसएमएलडीको परीक्षा दिने गरेकोमा स्वास्थ्य मन्त्रालयले अनुमति नदिएर दुस्ख दिएको बताए ।

Featured