देश

युवक मृत्यु प्रकरण : आज पनि राजमार्ग अवरुद्ध

धनगढी, माघ १९–शनिबार मोटरसाइकल दुर्घटना भएर युवकको मृत्यु भएको विषयमा कैलालीको लम्की आज पनि तनावग्रस्त नै बनेको छ । शुक्रबार राति १२ बजे से२प १८५० नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा स्थानीय २२ वर्षीय मायाराम चौधरीको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयवासीले दुर्घटना गराउने व्यक्तिको पहिचान गरी कारबाही गर्नुपर्ने मागसहित आइतबार बिहानैदेखि पुनः पूर्व–पश्चिम राजमार्गको लम्कीमा यातायात सेवा ठप्प पारेका छन्।

प्रहरीले सडक खुलाउन खोज्दा स्थानीयले ढुंगामुढा गरेपछि इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक मनोहरप्रसाद भट्टसहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्थिति नियन्त्रणमा लिन केही राउण्ड अश्रुँग्यास प्रहार गरिएको प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । उनले भने, ‘अझै पनि सडक अवरुद्ध नै छ । अहिले सो घटनालाई लिएर जिल्ला प्रशासन कार्यालय कैलालीमा सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।’

प्रहरीले ठक्कर दिएको आशंकामा एम्बुलेन्स र चालकलाई नियन्त्रणमा लिएको छ । तर, घटना अनुसन्धानकै क्रममा रहेकाले पूर्ण विवरण सार्वजनिक गर्न नमिल्ने प्रहरीको भनाइ छ । युवकले चलाएको मोटरसाइकललाई एम्बुलेन्सले ठक्कर दिएको आशंका गरिएको छ ।

Featured