देश

लाभकर चार किस्तामा तिर्ने व्यवस्था मिलाइदिन एनसेलको पत्र

काठमाडौं, माघ १९–राजश्व सचिव शिशिरकुमार ढुंगानाले एनसेलले चार किस्तामा पूँजीगत लाभकर तिर्ने व्यवस्था मिलाईदिन ठुला करदाता कार्यालयलाई पत्राचार गरेको बताएका छन् । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा राजश्व सचिव ढुंगानाले सर्वोच्च अदालतको आदेशपछि निर्धारण भएको करको २० प्रतिशत रकम भुक्तानी गरिसकेको र बाँकी ८० प्रतिशत जुन महिनाभित्र चार किस्तामा तिर्ने प्रतिवद्धतासहितको पत्र ठूला करदाता कार्यालयमा पठाएको बताएका हुन् ।

उनले सर्वोच्च अदालतको २०७६ भदौ ९ गतेको आदेशले २०७६ मंसिर १९ गते आयकर ऐन २०५८ को दफा १ सय २० बमोजिम पूँजीगत लाभकर बापत २२ अर्ब ४४ करोड ५३ लाख ९७ हजार ९ सय ५५ रुपैयाँ ५ पैसा निर्धारण गरेको बताए । त्यससँगै २०७६ पुस ६ गते एनसेललाई लाभकर बुझाउन ठुला करदाता कार्यालयले पत्राचार गरेको र २०७६ पुस १५ गते एनसेलले ४ अर्ब ५० करोड बुझाएको उनले बताए ।

Featured