देश

जंगली हात्तीको बथानद्वारा गहुँ बालीमा क्षति

कञ्चनपुर, माघ १९–कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको चुरे क्षेत्रनजिकका बासिन्दाले लगाएको अन्न बालीमा जंगली हात्तीको बथानले व्यापक क्षति पुर्याउन थालेको छ । ३ दिनदेखि करिब २० वटा हात्तीको बथानले गहुँ, केराउ, मुसुरोलगायत बालीमा नोक्सान र्पुयाएको हो । हात्तीको बथानले रातिको बेला स्थानीय किसानको खेतमा छिरेर बालीमा क्षति पुर्याउँदै आएको छ ।

नगरपालिकाको ८ नम्बर वडामा मात्रै हात्तीको बथानले सात जना किसानले खेतमा लगाएको गहुँलगायतको बालीमा क्षति गरेको वडाध्यक्ष बहादुरसिंह महराले बताए । सामुदायिक वन क्षेत्रमा लगाइएको १५ मिटर ग्याबिन तारजालीसमेत हात्तीको बथानले चुँडालेको छ । हात्तीको बथान साँझ नपर्दैनजिकैका सामुदायिक वनबाट खेतमा छिरेर क्षति र्पुयाउन थालेपछि स्थानीयवासी हात्ती भगाउनकै लागि रातभर जाग्राम बस्दै आएका छन् ।

खेतमै आगो बालेर हात्ती भगाउनका तीन दिनदेखि खेतमै बस्दै आएको स्थानीयवासी बिन्ता जागरीले बताइन् । वर्षात्का बेलासमेत यस क्षेत्रमा हात्तीको बथाले धान बालीमा व्यापक नोक्सानी गरेका थियो । हात्तीलगायतका जनावरले खेतमा लगाएको बालीमा नोक्सानी र्पुयाउँदै आएपछि स्थानीय किसान साँझ–बिहानको छाक टार्नकै लागि भारतमा मजदुरी गर्न जान बाध्य भएका छन् ।

Featured