देश

मिथिला चित्रकलाले रंगिँदै दूतावासका पर्खाल

जनकपुर, माघ १९–काठमाडौंस्थित अस्ट्रेलियन दूतावासको पर्खाल सिँगार्ने कार्य केही दिनदेखि भइरहेको छ । जनकपुरधामका कलाकारहरू मिथिला चित्रकला बनाउन त्यहाँ पुगेका छन् । उनीहरूले दिनभर मिथिला चित्रकला कोरिरहेका हुन्छन् । मिथिला चित्रकलाको जनकपुरधाम क्षेत्रमा निकै महत्त्व रहेको छ । मैथिली भाषा नेपालको धनुषा, महोत्तरी, सर्लाही, सिरहा, सप्तरीसहित प्रदेश १ र २ का विभिन्न जिल्लाहरूमा बोल्ने गरिन्छ । यही भाषाभाषीहरूका बीचमा पाइने कलालाई मिथिला लोककला भनिन्छ ।

लोककला लोक र कला मिलेर बनेको छ । लोकको अर्थ– गाउँ–शहरमा फैलिएको त्यो विशाल जनसमुदायसँग सम्बन्धित छ, जसको व्यावहारिक ज्ञानको आधार पुस्तक नभएर समाजमा निरन्तर रूपले चलिरहेको व्यवहारसित सम्बन्धित छ । मैथिली लोक चित्रकलाको परम्पराको इतिहास कम्तीमा पनि ५ हजार वर्ष पुरानो रहेको सांस्कृतिक विज्ञहरूको कथन रहेको छ ।

मिथिलाञ्चलको सांस्कृतिक धरोहरलाई समय समयमा विश्वस्तरमा प्रतिस्थापित गर्नसमेत प्रयत्नहरू नभएका होइनन् । त्यसमा मिथिलाको कला, साहित्य तथा संस्कृति ख्याति प्राप्त भएको छ । जानकारहरू भन्छन्, यस भेगका कला, संस्कृति मिथिला चित्रमार्फत् झल्किने गर्छ । अब त्यसको विस्तार अन्य देशमा समेत हुन थालेको छ ।

Featured