देश

पशु आहारका लागि २ सय विगाहमा मकैखेती

झापा, माघ १९–मकैबाट बनाइने पशु आहार ‘साइलेक्स’ उत्पादनका लागि झापामा २ सय विगाहमा मकैखेती गरिएको छ । झापालाई पशु आहारमा आत्मनिर्भर बनाउने उद्देश्यले पशुपालन तथा दुग्ध उत्पादन संघको नेतृत्वमा मकैखेती गरिएको हो । संघका अध्यक्ष लक्ष्मीप्रसाद निरौलाले साइलेक्स बनाउन मकैको फेददेखि टुप्पोसम्म सबै प्रयोग हुने भएकाले केही खेर नजाने र गाई–बाख्राले राम्ररी खाने गरेकाले यसप्रति किसानको आकर्षण बढ्दै गएको बताए ।

दानाको तुलनामा साइलेक्सको प्रयोग गर्दा गाई तथा बाख्रापालक किसानको २५ प्रतिशत लागत खर्च घट्ने अध्यक्ष सिटौलाको भनाइ छ । विगत तीन वर्षदेखि सानो परिमाणमा साइलेक्स उत्पादन गर्दै आए पनि संघले प्रदेश सरकारको आर्थिक सहयोगमा ठूलो परिमाणमा उत्पादन सुरु गर्न लागेको छ । साइलेक्स उत्पादनका लागि प्रदेश सरकारले रू. ८ करोड अनुदान दिने भएको छ भने संघमा आवद्ध किसानको ४ करोड रुपैयाँ थप गरी १२ करोड रुपैयाँको लागतमा अत्याधुनिक उपकरण ल्याउन लागिएको छ ।

जर्मनीबाट क्यासिक कम्पनीको ‘फूल अटोमेनिक’ यन्त्र खरिद गर्न लागिएको अध्यक्ष सिटौलाले बताए । प्रदेशबाट प्राप्त अनुदानबाट भण्डारण गृह, आवश्यक उपकरण खरिद गरिने जनाइएको छ । साइलेक्स उत्पादनका लागि जिल्लाको मेचीनगर नगरपालिका, दमक नगरपालिका, बाह्रदशी गाउँपालिका, झापा गाउँपालिकालगायतका स्थानमा करिब २ सय विगाहमा मकैखेती गरिएको छ ।

हावा र पानीबाट बचाउनसके साइलेक्स १८ महिनासम्म भण्डारण गरेर राख्न सकिन्छ । सरकारले खाली रहेको जग्गामा मकै खेती गर्न दिए पशु आहारमा आत्मनिर्भर बनाउन सकिने अध्यक्ष सिटौलाको भनाइ छ । उन्नत जातका बाच्छी उत्पादनका लागि संघले अमेरिकाबाट एबिएस कम्पनीको कृत्रिम गर्भाधारण उपकरण खरिद गर्ने तयारी गरेको छ । प्रदेश १ का पशुपालक किसानलाई संघमा आबद्ध गराएर पशु आहार आपूर्ति गर्ने योजना बनाइएको छ । संघले अन्य किसानले उत्पादन गरेको मकैसमेत खरिद गरेर साइलेक्स उत्पादन गर्दै आएको छ । रासस

Featured