खेलकुद देश

आहा–रारा गोल्ड कपको १८औँ संस्करण २२ फागुनदेखि सुरु हुने

पोखरा, माघ १९–मोफसलको प्रतिष्ठित १८औँ संस्करणको आहा रारा गोल्ड कप २२ फागुनदेखि पोखरामा हुने भएको छ । सहारा क्लब पोखराले आयोजना गर्दै आएको राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लबस्तरीय गोल्ड कप फुटबल प्रतियोगिताबारे आइतबार बिहान पोखरामा पत्रकार सम्मेलनमार्फत औपचारिक घोषणा गरेको हो । प्रतियोगिता २२ फागुनदेखि १ चैतसम्म सञ्चालन गर्न लागिएको हो । क्लबका महासचिव रामजीप्रसाद अधिकारीले अखिल नेपाल फुटबल संघ (एन्फा)ले तय गरेको मितिमै प्रतियोगिता हुने बताए । उनका अनुसार प्रतियोगिता एक सातासम्म सञ्चालन हुनेछ । प्रतियोगितामा १० टिम सहभागी हुने आयोजकले जनाएका छन्।

प्रतियोगितामा राष्ट्रिय, अन्तराष्ट्रिय र मोफसलका टोलीबीच प्रतिस्पर्धा हुने क्लबका अध्यक्ष केशबहादुर थापाले जानकारी दिए । प्रतियोगिताको पुरस्कार राशि टुंगो लागेको छैन । अघिल्लो वर्षभन्दा केही रकम थप गर्ने विषयमा आन्तरिक छलफल नटुंगिएका कारण पुरस्कार घोषणा नगरिएको थापाले बताए ।

अघिल्लो वर्ष विजेताले ८ लाख १ हजार र उप–विजेताले ४ लाख १ हजार पुरस्कार पाएका थिए । १८औंँ प्रतियोगिता सम्पन्न गर्न ९९ लाख ३८ हजार खर्च लाग्ने अनुमान छ । आयोजकले प्रतियोगिताबाट १ करोड १८ लाख आम्दानी हुने अपेक्षा गरेको छ । क्लबका अध्यक्ष थापाले सहारा एकेडेमी सञ्चालनार्थ प्रतियोगिता सञ्चालन गर्दै आएको बताउँदै एकेडेमीमा पछिल्लो समय १५ जिल्लाका २४ बालकहरु आश्रित रहेको जनाए ।

Featured