देश

विषाक्त खानाले मरे ३ गैँडा

चितवन, माघ १९–चितवन राष्ट्रिय निकुञ्जमा कालगतिले मरेका १४ गैँडामध्ये तीन विषाक्त खानाले मरेका छन् । शनिबार पूर्वी नवलपरासीको सेहेरीमा मृत फेला परेको गैँडा विषाक्त खानाका कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ । निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा. विजय श्रेष्ठका अनुसार गत हप्ता तमासपुर क्षेत्रमा एउटा गैँडा र एक महिनाअघि गाँजीपुर क्षेत्रमा अर्को एक गैँडा विषाक्त खानाकै कारण मरेको प्रारम्भिक अध्ययनले देखाएको छ ।

गत साता मरेको गैँडाको पेटमा १० महिनाको बच्चासमेत रहेको थियो । श्रेष्ठका अनुसार ती गैँडाको आन्द्रा र पेटमा रक्तश्राव भएको शव परीक्षणमा देखिएको छ । यद्यपि कारण प्रष्ट हुनका लागि विषादी परीक्षण गर्न प्रयोगशालाको खोजी भइरहेको उनले जानकारी दिए । मरेका तीनै गैँडाको अन्य महत्त्वपूर्ण अङ्गमा कुनै समस्या नदेखिएको उनले बताए । सबै गैँडाको पेटमा तोरी देखिएको भन्दै उनले विशाक्त तोरीका कारण मरेका पनि हुन सक्ने अनुमान गरिएको जानकारी दिए ।

शनिबार सेहेरीमा भेटिएको गैँडा भाले हो भने अन्य दुई पोथी गैँडा हुन् । यससँगै अन्य कालगतिले मरेका गैँडा बुढो भएर, जुधेर, दलदलमा फसेर र करेन्ट लागेर मरेका उनले बताए । गत कात्तिकदेखि चालू महिनासम्म प्राकृतिक कारणले धेरै गैँडा मर्ने गरेको निकुञ्जको तथ्यांकमा उल्लेख छ । गत साल प्राकृतिक कारणले ४३ गैँडा मरेका थिए । यस वर्ष सात महिना पुग्न लाग्दा १४ गैँडा मरेका छन् ।

तुलनात्मक हिसाबले कम गैँडा मरेका भए पनि निकुञ्जले प्राकृतिक कारणको मृत्यु दर अझ घटाउन गृहकार्यमा रहेको जनाएको छ । वन मन्त्रालयले प्राकृतिक कारणले गैँडा मर्नुका कारण पत्ता लगाउन समितिसमेत गठन गरेको छ । अघिल्ला वर्षमा पनि वार्षिक २५ हाराहारी गैँडा कालगतिले मरेको तथ्यांक छ । हरेक ५र५ वर्षमा गैँडा गणना गर्ने गरिन्छ । पछिल्लो गणनाअनुसार सो निकुञ्जमा ६ सय ५ गैँडा रहेका थिए । यस वर्ष निकुञ्जमा गैँडा गणना गरिँदै छ । रासस

Featured