देश

मध्यपहाडी राजमार्ग एक साता बन्द हुने

दैलेख, माघ १९–पुष्पलाल मध्यपहाडी राजमार्गअन्तर्गत दैलेखको लोहोरे–बेस्तडा सडकखण्ड सात दिनका लागि बन्द हुने भएको छ । मध्यपहाडी राजमार्ग चौडा बनाउनका लागि भीर काटेर सडक चौडा पार्नका लागि मध्यपहाडी राजमार्ग सात दिनका लागि बन्द गर्न लागिएको हो । लोहोरे–बेस्तडा मन्घर सडकखण्डको छाँच भीरस्थित चट्टान काट्न सडक नै बन्द गर्नुपरेको राजमार्गका इन्जिनियर नारायणप्रसाद न्यूरेले बताए । ‘ठाडो कडा चट्टान काट्दा खसेको ढुंगा लागेर सवारी दुर्घटना हुन सक्छ,’ उनले भने, ‘अप्रिय घटना हुन नदिन सूचना नै जारी गरेर सडक बन्द गरिएको छ ।’

छाँचको भीरमा करिब दुई सय ५० मिटर कडा चट्टान छ लागेका कारणले माघ १८ गतेदेखि २४ माघसम्म राजमार्ग बन्द इन्जिनियर न्यूरेले जानकारी दिए । दैलेखको भगवतीमाई गाउँपालिका हुँदै जाजरकोटको सिमाना सुयेडासम्म दैनिक ५० भन्दा बढी साना ठुला सवारी साधन आवत–जावत गर्ने गरेका छन् । आयोजनाले दैलेख सदरमुकामको लोहोरे खोलादेखि जाजरकोटको सिमानासम्म सडक कालोपत्रे गर्ने तयारी थालेको छ । भीर काट्ने काम सम्पन्न भएसँगै कालोपत्रेको प्रक्रिया सुरु हुने इन्जिनियर न्यूरेले जानकारी दिए ।

लामो समयदेखि विवादमा रहेको मध्यपहाडी सडकको दैलेख खण्डको विवाद समाधानको तयारीसँगै ठेक्का खोल्ने तयारी पनि थालिएको छ । विवाद देखिएको सदरमुकामलगायतका खण्डका सडकको डिपिआर, डिजाइन, नक्सा तयार भइसकेको आयोजना दैलेख कार्यालयले जनाएको छ । फाइल तयार गरेर विभाग पठाउनुपर्ने कर्मचारीको सरुवा भएका कारण केही समय ढिला हुने पनि आयोजना कार्यालयले जानकारी दिएको छ ।

Featured