देश

सरकारी लेखामात्र होइन निजी क्षेत्रको लेखा पनि पारदर्शी छैन :शिक्षामन्त्री

काठमाडौं, माघ १८–शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकको आर्थिक विकासमा चार्टर्ड एकाउन्टेन्टहरुको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को २३औँ वार्षिकोत्सव तथा दोस्रो दीक्षान्त समारोहमा मन्त्री पोखरेलले समृद्ध नेपाल, सुखी नेपालीको सपना साकार बनाउन उनीहरुको भूमिका महत्वपूर्ण हुने बताए ।

नेपालमा आधारभूत तहका जनशक्तिको उत्पादन धेरै भए पनि मध्यम र दक्ष जनशक्ति कम उत्पादन भइरहेको उनले बताए । ‘७ प्रतिशतको हाराहारीमा मात्रै दक्ष जनशक्ति उत्पादन हुन्छन्,’ उनले भने, ‘तपाईं चार्टर्ड एकाउन्टेन्टहरु दक्ष हुनुहुन्छ, मुलुक विकासका लागि काम गर्नुस् ।’ कार्यक्रममा महालेखापरीक्षक टंकमणि शर्मा दंगालले आइक्यानले अहिले पनि उच्च पेशागत विकासका लागि काम गरिरहेको बताए ।

उनले मुलुकमा लेखा व्यवसायको दायित्व अझ बढ्दै गएकाले यसको नियमनमा पनि ध्यान दिनुपर्ने उल्लेख गरे । हामी सबैको जिम्मेवारी भनेको वित्तीय पारदर्शीता, आर्थिक अनुशासन र सुशासन हो । यसका लागि पेशागत मर्यादा, सहकार्यको आवश्यकता पर्दछ,’ उनले भने । यसका लागि आइक्यान पनि एक हिस्सा भएको उनको भनाइ थियो ।

Featured