विचार-ब्लग

PR अनि Green-Card होल्डरहरुमा बेचिने पेशा होइन नर्सिङ्ग

विदेश जान बनाएको र नेपालमा काम नभएको होइन नर्सिङ्ग पेशा ! ! !

म जब कक्षामा पहिलो दिन छिर्छु, तव हरेक विद्यार्थीलाई नर्सिंङ्ग प्रतिको आकर्षण कसरी भयो ? किन यो विषय रोज्यो भन्ने प्रश्नबाट सुरु गर्छु । र अधिकांश विद्यार्थीको उत्तर यही हुन्छ, “विदेश जान म्याम” जव कि नर्स भनेको के हो ? के काम हुन्छ ? पेशाको बारेमा अनविज्ञ हुन्छन् । अझ कति जनाले त बावु आमाको इच्छा हो म्याम भन्छन् र काम सिकाउने क्रममा उनिहरुको काम प्रति लगाव देख्दिन किनकी विदेश र वाबुआमाको सपनामा अल्झिरहेका हुन्छन् । अनि डिउटी हुन्छ, त्यही क्रममा राम्रोसंग पढ र प्राक्टिस गर भन्ने कुरालाई उनिहरुले ठुलो चिन्ता को रुपमा लिन्छन्, त्यो कुरा सहि पनि छ, किनकी त्यो इच्छा भन्दा पनि विदेशिने र अरुको सपना नै हो । कुरा बुझाउँदै जान्छु उनिहरुले बुझ्न सक्दैनन् । किनकी त्यो उमेरको दोष हो, अर्थात त्यो १५,१६ बर्षको बच्चाले कसरी विरामीको सेवा गरोस ? कसरी नयाँ टेक्नोलोजी चलाउन सकोस ? विचरा कसरी विरामीलाई र कुरुवालाई सम्झाओस्, जब उ आफुलाई अरुको परामर्शको जरुरी हुन्छ।

यसो सोच्छु, सबैको भिषा त लाग्दैन तर पनि विदेश प्रतिको लगाव चाहिँ घटेको हुदैन । नेपाल मै बसेर जागिर मिल्दैन, पैसा छैन रे, के हामी पैसाको लागि मात्र पढ्न खोजेका हौँ त ? के कमाई नभएर नेपाल बस्न मन नलागेको हो त ? शुरुमा धेरै आशा राखेर पुरा नभाको हो कि ? विदेश वा भिषा को लागि मात्र पढ्दा कतै हाम्रो पेशा र भविष्य धरापमा नहोला भन्न सकिन्न । काम जुन सुकै होस् तिम्रो इच्छा, चाहना र सेवामा समर्पित छैन भने, तिम्रो सपना पुरा हुदैन र सक्दैन पनि । विदेश जान बनाएको र नेपालमा काम नभएको होइन नर्सिङ्ग पेशा ! ! ! १५ वर्षमा स्टाफ नर्स पढेर अठार वर्षमा पास गरेर अलिकति कमाउन सुरु गर्दा कहाँ गलत हुन्छ र ? त्यो बच्चाले तीस, चालीस हजार कमाउला भनेर सोच्नु हाम्रो भ्रम त होइन ? यसरी सोचौं कि उ एउटा नर्स आजदेखि आत्मनिर्भर हुँदैछ भनेर गर्व महशुस गर्न जरुरी छ जस्तो लाग्छ ।

  • वर्षा शर्मा