देश

पृथ्वीराजमार्ग हुँदै लागुऔषध ओसारपोसार बढ्यो

तनहुँ, माघ १८–तनहुँ जिल्लामा लागुऔषधको मुद्दा बढ्दै गइरहेको छ । पृथ्वीराजमार्गको ७२ किमी खण्ड ओगटेको तनहुँ जिल्लामा राजमार्ग हुँदै लागुऔषध ओसारपोसार बर्सेनी बढेको हो । पछिल्लो समय लागुऔषध कारोबारी पक्राउ परेको तथ्याङ्कले पनि जिल्ला लागुऔषधको ‘ट्रान्जिट प्वाइन्ट ’का रुपमा प्रयोग हुँदै आएको देखिएको छ । यसजिल्ला हुँदै गोरखा, लमजुङ, पोखरा, पर्वत, म्याग्दी, बागलुङसम्म लागुऔषध ओसारपसार हुने गरेको प्रहरीले जनाएको छ ।

तीन वर्षको अवधिमा जिल्लामा लागुऔषधको मुद्दा वृद्धि भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । आर्थिक वर्ष २०७३/७४ मा २७, २०७४/७५ मा ४० र २०७५/७६ मा ७० लागुऔषधसहित पक्राउ परेका थिए । जिल्लामा दर्ता हुने कूल मुद्दामध्ये लागुऔषधको मुद्दा दोस्रो स्थानमा रहेको बताइएको छ । ’लागुऔषध प्रयोगकर्ता पक्राउको क्रमले पनि जिल्लामा लागुऔषध प्रयोगकर्ता बढिरहेको देखाएको छ’, उनले भने ।

लागुऔषध नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयले लागुऔषध कारोवारमा संलग्नको खोजीकार्य तीव्र पारेको छ । ’पृथ्वीराजमार्गमा पर्ने तनहुँ खण्ड हुँदै अन्य जिल्लामा लागुऔषध ओसारपसार हुने गरेको तथ्याङ्कले देखाएको छ’, प्रहरी उपरीक्षक सिलवालले भने, ’सस्तो मूल्यमा खरीद गरेर महङ्गोमा बिक्री गर्न पाइने भएपछि युवायुवती लागुऔषधको कारोबारमा लागेका छन् ।’ रात्रिकालीन बसबाट बढी मात्रामा लागुऔषध ओसारपसार हुने गरेकोले रात्रिकालीन जाँचको क्रमलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । लागुऔषध न्यूनीकरणका लागि सचेतना कार्यक्रम समेत सञ्चालन हुँदै आएको छ ।(रासस)

Featured