देश

औद्योगिक क्षेत्र निर्माण प्रभावित

हेटौँडा, माघ १८–हेटौँडा उपमहानगरपालिका–१४ स्थित मयूरधापमा नयाँ औद्योगिक क्षेत्रको निर्माण कार्य प्रभावित भएको छ । २०७२ चैत १ गतेको मन्त्रिपरिषद् बैठकले मयूरधापमा नयाँ औद्योगिक क्षेत्र बनाउने निर्णय गरेको थियो । वन तथा वातावरण मन्त्रालयले औद्योगिक क्षेत्रको कामलाई समस्यामा पारेपछि काम प्रभावित भएको हो । स्वदेशी उत्पादनमा वृद्धि तथा रोजगारी सृजना गर्ने उद्देश्यले निर्माण गर्न लागिएको औद्योगिक क्षेत्रको निर्माणको कामलाई उक्त मन्त्रालयले प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन स्वीकृत नगर्दा औद्योगिक क्षेत्रको काम बन्द भएको हो ।

उक्त औद्योगिक क्षेत्र पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने भएको कारण देखाउँदै मन्त्रालयले समस्या उत्पन्न गरेको बताइएको छ । औद्योगिक क्षेत्रको लालपुर्जा प्राप्त गरी विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गरेर तारबार र प्लटसमेत छुट्याउने काम भइसकेको छ । मन्त्रालयले स्वीकृति नदिँदा समस्या भएको हेटौँडा औद्योगिक क्षेत्रका प्रमुख राजेन्द्र कँडेलले जानकारी दिए ।

२०७३ मा औद्योगिक क्षेत्र स्थापना गर्न मयूरधाप औद्योगिक क्षेत्रको नाममा लालपुर्जा प्रदान गरेको थियो । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले औद्योगिक क्षेत्रको परियोजना कार्यालयका लागि दरबन्दीसमेत तोकेर सातजना कर्मचारी खटाएको छ ।

Featured