देश

’कोरोनाबारे नकारात्मक समाचारले पर्यटक डराए’

काठमाडौं, माघ १८–संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नकारात्मक समाचारका कारण पर्यटकहरु बिच्किने गरेको बताएका छन् । कारोना भाइरस र यसबाट पर्यटन क्षेत्रमा परेको असरका विषयमा आयोजित छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपालमा कोरोनाको संक्रमण नदेखिए पनि नकारात्मक खबरका कारण पर्यटन क्षेत्रलाई असर गरेको गुनासो उनले गरे ।

‘नेपालमा एक जनालाई कोरोना भएको पुष्टि भएको थियो । उहाँ पनि उचारबाट फर्किनुभएको छ । अन्य ५ जनामा आशंका गरिएको थियो तर सबैमा नेगेटिभ देखियो । नेपालमा कोरोनाको प्रभाव छैन्’, उनले भने, ‘तर समाचारमा फलना होटलको यति बुकिङ क्यान्सिल, यति प्रतिशत व्यापार घट्यो भन्नेजस्ता नकारात्मक समाचारले नराम्रो सन्देश गएको छ ।’ समाचारको उद्देश्य राम्रो भए पनि यसबाट पर्यटकहरुमा नेपालमा भ्रमण गर्न सुरक्षित छैन भन्ने सन्देश जाने उनले बताए ।

चीनमा पनि बुहानबाहेक अरु ठाउँ सुरक्षित रहेको र नेपालमा जस्तो पर्यटकको संख्या यतिले घट्यो, आउन छोडे भन्ने खालका समाचार नआएको बताए । नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत दिपकराज जोशीले सही र तथ्यगत सूचना आदानप्रदान अहिलेको आवश्यकता भएको बताए । सबैमाझ सही सूचना आदानप्रदान गर्ने र नेपालनाउडटओआरजी नामक वेवसाईटलाई एक्टिभ गरी हरेक गतिविधि, नेपालमा रहेका पर्यटकहरु आफ्नो मनमा लागेका कुरा राख्न पाउने गरी व्यवस्था गर्नुपर्ने उनले बताए ।

‘प्रेस रिलिजले मात्रै अब काम गर्दैन् । विभिन्न ७, ८ वटा जानकारीमूलक सूचनाहरु राखेर इन्फेग्राफिक्स नै प्रकाशनमा ल्याउनुर्पयो । नेपालमा कोरोना भाइरसको खतरा छैन् । चीन र नेपालको दुरी यति हो । यस्ता जानकारी दिने गरी प्रकाशन गर्नुर्पयो ’, उनले भने । चीनको बुहान क्षेत्रबाट देखिएको कोरोना भाइरसको संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिसकेको बताइएको छ ।

Featured