देश

गाउँमा चितुवा आतंक

काभ्रे, माघ १८–काभ्रेको भुम्लु गाउँपालिकास्थित जङ्गल आसपासका बस्तीमा चितुवाले आतङ्क मच्चाएको छ । केही दिनदेखि चितुवाले गोठ तथा छाप्रामा बाँधिएका बाख्रा मार्ने र खाने गरेपछि स्थानीय बासिन्दा निकै चिन्तामा छन् । वडा नम्बर ७ टारका हरिहर उप्रेतीले चितुवाले गत बिहीबार राति आफ्नो गोठभित्रका आठ बाख्रा मारिदिएको बताए ।

गोठको ढोका फोरेर चितुवाले एउटा पाठी आधा खाएको अन्यलाई घाँटीबाट रगत चुसेर मारेको उनले सुनाए । उनका अनुसार शुक्रबार राति नै चितुवाले स्थानीय लक्ष्मी रिजालका दुई बाख्रा मारिदिएको छ । टार आसपास रहेका कुकुरलाई समेत चितुवाले मारेको उप्रतीले बताए ।

’चितुवाले बाख्रा र कुकुरलाई मार्न थालेपछि बस्तीका बासिन्दा त्रसित अवस्थामा छन्’, उनले भने । चितुवाले बालबालिकालाई समेत आक्रमण गर्नसक्ने भएकाले स्थानीवासी साँझदेखि नै सचेत भएर बस्न थालेका छन् । वडाध्यक्षलाई जानकारी गराई सिफारिससहित प्रहरी चौकी जाने तयारीमा रहेको उनले बताए ।

चितुवाले जङ्गल आसपासका बस्तीमा गोठभित्रै बाख्रा मारेको खबर पीडितबाट आएको वडा नम्बर ७ का अध्यक्ष मोतीलाल तामाङले बताए । ’सतर्कता अपनाउन भनिएको छ, आतङ्क न्यूनीकरणबारे सम्पूर्ण जनप्रतिनिधिसहित छलफल गर्ने योजनामा छौँ, ’उनले भने । केही दिनदेखि गाउँपालिकाका केही स्थानमा दिउँसोसमेत चरिरहेका बाख्रालाई चितुवाले जङ्गलबाट आएर मार्ने गरेको खबर आउन थालेको उनले बताए । (रासस)

Featured