विदेश

ब्रिटेन ईयूबाट बाहिरिएपछि यी सात कुरा फेरिने छन्

काठमाडौं, माघ १८–सन् २०१६ को जुन २३ मा ब्रिटेनले युरोपेली संघ त्याग्ने पक्षमा भोट दिएको थियो । तीन वर्ष, तीन प्रधानमन्त्री र दुई निर्वाचनपछि यूके अन्ततः शुक्रबार जनवरी ३१ जीएमटीअनुसार राति ११ बजे युरोपेली संघ ईयूबाट अलग्गियो । तर त्यसलगत्तै ब्रिटेन ११ महिना लामो सङ्क्रमणकालमा प्रवेश गरेको छ। लामो समयदेखि चर्चामा रहेको ब्रेक्जिटले त्यसोभए के परिवर्तन भयो त ? सङ्क्रमणकालमा यूकेले ईयूको नियम मानिरहनेछ र ईयूलाई तिर्नुपर्ने पैसा पनि तिरिरहनेछ। कति कुरा पहिलाकै जस्ता हुनेछन् भने कति कुरा निकै बदलिनेछन् ।

१. युरोपेली संसद्का यूके सदस्यहरू पदमुक्त
नाइजेल फराजको ब्रेक्जिट पार्टीले सन् २०१९ को मे मा भएका युरोपेली चुनावमा यूकेबाट सबभन्दा धेरै सीट जितेको थियो । ब्रेक्जिट पार्टीका नेता तथा यूकेले ईयू त्याग्नुपर्ने पक्षका मुख्य अभियानकर्ता नाइजेल फराज ती ७३ ब्रिटिश युरोपेली सांसदमध्ये हुन् जसको पद स्वतः समाप्त हुँदैछ।

किनभने ब्रेक्जिटको समयमा यूकेले ईयूका सबै राजनीतिक निकाय तथा संस्था त्याग्नेछ। तर यूकेले सङ्क्रमणकालमा ईयूको नियम मान्नुका साथै युरोपेली न्यायालय ( जुन निकायले ईयू कानुन कार्यान्वयन गराउँछ) लाई कानुनी विवादमा अन्तिम निरूपणको अधिकार प्राप्त भइरहनेछ।

२. अब ईयू शिखर सम्मेलनमा ब्रिटेन हुनेछैन
यूकेका प्रधानमन्त्री बोरिस जोन्सन विशेष निमन्त्रणाका बेलामा बाहेक अब आइन्दा हुने ईयू परिषद् शिखर सम्मेलनहरूमा सहभागी हुनेछैनन्। साथै ब्रिटिश मन्त्रीहरू पनि विभिन्न युरोपेली नियमहरू बसाल्ने नियमित ईयू बैठकहरूमा अब सहभागी हुनेछैनन् ।

३. व्यापारबारे अब निकै धेरै चर्चा सुनिनेछन्
वस्तु तथा सेवाको किनबेचका नयाँ नियम बसाल्न यूकेले विश्वभरका देशहरूसँग वार्ता गर्न सक्नेछ। ईयूको सदस्य रहँदारहँदै यूकेले अमेरिका तथा अस्ट्रेलियासँग औपचारिक व्यापार वार्ता गर्न पाएको थिएन।

ब्रेक्जिट समर्थकहरूको भनाइमा स्वतन्त्रतापूर्वक आफ्नो व्यापारनीति बनाउन पाउँदा यूकेको अर्थतन्त्रलाई फाइदा हुनेछ। अनि ईयूसँग अझै धेरै छलफल बाँकी छन्। यूके–ईयू व्यापार सम्झौता उच्च प्राथमिकतामा छ, त्यसैले सङ्क्रमणकालको अन्त्यसँगै वस्तु तथा सेवामा अतिरिक्त कर तथा अन्य व्यापार अवरोध आवश्यक पर्नेछैन। कुनै व्यापार सम्झौता हुने हो भने त्यो सङ्क्रमणकाल सकिएपछि मात्र सुरु हुनेछ।

४. यूकेको पासपोर्टको रंग परिवर्तन हुनेछ
सन् १९८८ मा ब्रिटेनको नीलो पासपोर्टलाई ईयूअन्तर्गतको कलेजी पासपोर्टले विस्थापन गरेको थियो । पुरानो नीलो रङ्गको ब्रिटिश पासपोर्टको पुनरागमन हुनेछ। हालको कलेजी रङ्गको पासपोर्टले त्यसलाई ३० वर्ष अघि विस्थापन गरेको थियो।

सन् २०१७ मा परिवर्तनहरूको घोषणा गर्दै आप्रवासी मामिलामन्त्री ब्र्यान्डन लुविसले सन् १९२१ मा पहिलो पटक प्रयोगमा आएको नीलो पासपोर्टको पुनरागमनको प्रशंसा गरेका थिए। आगामी केही महिनाहरूमा नयाँ पासपोर्ट चरणबद्ध रूपमा लागु गरिनेछ। यस वर्षको मध्यसम्ममा सबै पासपोर्ट बदलिसक्नेछन् ।

५. ब्रेक्जिट सिक्का
ब्रेक्जिटमा ढिलाइ हुँदा सिक्का पुनः बनाउनु परेको थियो । ब्रेक्जिटको संस्मरणमा बनाइएको ५० पेन्सका ३० लाख सिक्का शुक्रवार चलनचल्तीमा आए । तिनमा जनवरी ३१ को मिति तथा ‘शान्ति, सम्पन्नता र सबै देशसँग मित्रता’ कुँदिएको छ। सिक्काले मिश्रित प्रतिक्रिया पाएको छ। ब्रेक्जिटविरोधी कतिपयले यसलाई नस्वीकार्ने भन्दै आएका छन्।

यसअघि सरकारले यो सिक्का पहिले तोकिएको ब्रेक्जिट मिति अक्टोबर ३१ मा नै चलनचल्तीमा ल्याउन खोजेको थियो।तर ब्रेक्जिटको मिति परिवर्तन भएपछि ती सिक्का फेरि पगालेर नयाँ बनाउनुपर्यो।

६. युकेको ब्रेक्जिट विभाग बन्द
ब्रेक्जिटको दिनमा यूके–ईयू वार्ता गर्ने टोली तथा अन्य सम्बद्ध तयारीहरूको अन्त्य भयो। पूर्वप्रधानमन्त्री टरिजा मे ले सन् २०१६ मा युरोपेली सङ्घ बहिर्गमन विभाग स्थापना गरेकी थिइन्। आगामी वार्ताका लागि यूकेको वार्ता टोली प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रीटमै रहनेछ।

७. जर्मनीले अपराधी यूके सुपुर्दगी गर्नेछैन
अब जर्मनी भागेका केही सन्दिग्ध अपराधीलाई यूके फिर्ता ल्याउन सम्भव हुनेछैन। जर्मनीको संविधानले ईयू सदस्य राष्ट्रबाहेक अन्यत्र उसका नागरिकलाई सुपुर्दगी गर्न अनुमति दिँदैन। ‘यूकेले ईयू त्यागेपछि यो अपवाद लागु हुनेछैन,’ जर्मन संघीय न्याय मन्त्रालयका एक प्रवक्ताले बताए। अरू देशको हकमा पनि यस्तै हुने हो कि भन्ने अझै प्रष्ट भइसकेको छैन। उदाहरणका लागि स्लोभेनियाले स्थिति जटिल हुने बताएको छ भने युरोपेली आयोगले यसमा टिप्पणी गरेको छैन। यूकेको गृह मन्त्रालयले भनेको छ युरोपेली पक्राउपुर्जी सङ्क्रमणकालमा लागु हुनेछ। ९अर्थात् जर्मनीले गैरजर्मन नागरिकलाई सुपुर्दगी गर्न सक्नेछ। बीबीसीबाट

Featured