देश

दुई हजार छाउगोठ भत्काइए

सुर्खेत, माघ १८–सरकारले कर्णाली र सुदू्रपश्चिममा छाउगोठ भत्काउने अभियान नै चलाएको छ । नेपाल सरकार गृह मन्त्रालयको निर्देशनमा जनप्रतिनिधिको अगुवाई र स्थानीय प्रशासन कार्यालयको समन्वयमा छाउगोठ भत्काउने अभियान जारी छ । यस्तो अभियानअन्तर्गत एक महिनाको अवधिमा कर्णाली प्रदेशका पाँच जिल्लामा एक हजार ९ सय ६५ वटा छाउगोठ भत्काइएका छन् ।

कर्णाली प्रदेशको सुर्खेत, दैलेख, कालिकोट, जाजरकोट र सल्यान जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । पश्चिम रुकुम, जुम्ला, मुगु, हुम्ला र डोल्पा जिल्लामा जनचेतनामूलक अभियान जारी छ । कर्णाली प्रदेशका पाँच जिल्लामध्ये सुर्खेतमा सबैभन्दा बढी एक हजार ६ सय ७१ छाउगोठ भत्काइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

दैलेखमा दुई सय ५९, जाजरकोटमा १३, कालिकोटमा २० र सल्यानमा दुई वटा छाउगोठ भत्काइएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी लोकनाथ तिम्सिनाले जानकारी दिए । ‘हामी स्थानीय तहका जनप्रतिनिधि, स्थानीय र प्रहरी प्रशासको सहयोगमा छाउगोठ भत्काउने अभियानमा छौं,’ उनले भने, ‘अहिलेसम्म हामीले स्थानीयले भनेको आधारमा छाउगोठ भत्काइरहेका छौं । जम्मा छाउगोठ कति छन् भनेर तथ्याङ्क पनि संकलन गरिरहेका छौं ।’

सुर्खेत जिल्लाको बराहताल, चौकुने गाउँपालिका र पंचपुरी नगरपालिकामा सबैभन्दा बढी छाउगोठ रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतका छाउगोठ भत्काउने अभियानका नेतृत्वकर्ता नवराज शर्माले बताए । ‘जिल्लाभर हामीले दुई हजार दुई सय छाउगोठ रहेको अनुमान गरेका छौं,’ उनले भने, ‘अब पाँच सय जति छाउगोठ भत्काउन बाँकी छ ।’

कालिकोटको नरहरीनाथ र सान्नी त्रिवेणी गाउँपालिकामा सबैभन्दा बढी करिब एक सय छाउगोठ रहेको जिल्ला प्रशासन कार्यालय कालिकोटका सूचना अधिकारी बमबहादुर नेपालीले जानकारी दिए । जुम्लामा छुट्टै छाउगोठ नरहेको र घरको छुट्टै कोठामा महिलाहरु बस्ने गरेको जुम्लाका प्रमुख जिल्ला अधिकारी दुर्गा बन्जाडेले बताइन् ।

Featured