देश

नौमुले गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध पक्राउ पुर्जी

दैलेख, माघ १८–जिल्लाको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढा मगरसहित चारजनालाई अभद्र व्यवहारसम्बन्धी मुद्दामा पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय दैलेखले प्रहरीलाई अनुमति दिएको छ। १३ माघमा जनजाति महासंघको बैठक सकेर घर फर्कने क्रममा नौमुले गाउँपालिका–५ का कृष्ण सलामीमाथि अभद्र व्यवहार गरेको उजुरी जिल्ला प्रहरी कार्यालय दैलखमा परेको थियो । सोही उजुरीका आधारमा जिल्ला प्रशासन कार्यालय दैलेखले गाउँपालिकाका अध्यक्ष मगरसहित चार जनालाई पक्राउ गर्न अनुमति दिएको दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले बताए ।

हतियारसहित गएर कृष्ण सलामीलाई अभद्र व्यवहार गरेको भन्दै कृष्ण सलामीका दाइ गणेश सलामीले उजुरी दिएका थिए । गणेशको उजुरीका आधारमा उनीहरूलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नैनबहादुर सावदले बताए ।

अध्यक्ष मगरसहित गणेश थापा मगर, कपिल सिंह र छविलाल राम्जालीलाई अनुमति दिइको हो । उनीहरूविरुद्ध अभद्र व्यवहारसम्बन्धी उजुरी परेपछि गणेश थापा मगर र कपिल सिंहलाई प्रहरीले पक्राउ गरिसकेको जनाएको छ। गाउँपालिकाका अध्यक्ष मगर र राम्जाली भने फरार रहेको उनले बताए ।

Featured