देश

मौसमी फ्लुको संक्रमण बढेपछी विद्यालय बन्द

बाजुरा, माघ १८–मौसमी फ्लुको सङ्क्रमणबाट हिमाली गाउँपालिकामा ३० विद्यार्थी एकैसाथ बिरामी परेका छन् । वडा नम्बर ६ धुलाचौरमा रहेको एन्जल इङ्लिस बोर्डिङ स्कूलमा अध्ययन गर्ने विद्यार्थी बिरामी परेका प्रिन्सिपल दिनेश सागरले जानकारी दिए । विद्यालयमा अध्ययन गर्ने सय विद्यार्थीमध्ये ३० बिरामी परेका हुन् । तीमध्ये तीन सिकिस्त छन् ।

तीन दिनदेखि विद्यालयमा सङ्क्रमण फैलिएको सागरले बताए । शुरुमा दुई जनामा फैलिएको र तीन दिनमै ३० मा सङ्क्रमण देखिएको बताइएको छ । एकैसाथ ठूलो सङ्ख्यामा विद्यार्थी बिरामीले थला परेपछि विद्यालय नै बन्द गरिएको छ । धुलाचौर स्वास्थ्य एकाइमा उपचार गराउँदा बिरामीलाई एक–अर्कासँग सम्पर्क नगराउन र आरामसहित उपचारमा राख्न सुझाव दिइएको छ।

Featured