देश

बृहत् टुँडिखेलको गुरुयोजना बनाउँदै सरकार

काठमाडौं, माघ १८–काठमाडौंको मुख्य भागमा अवस्थित टुँडिखेलको संरक्षण र विकासका लागि सरकारले ‘बृहत्तर टुँडिखेल गुरुयोजना’ अघि सारेको छ । सरकारको अहिलेको योजनाअनुसार काम भएमा अहिलेको टुँडिखेल क्षेत्र बृहत् हराभरा र अन्तर्रा्ष्ट्रियस्तरमा नै चिनाउन लायक बन्नेछ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको रानीपोखरी, टुँडिखेल, रंगशालालगायत क्षेत्रलाई समेटेर बृहत् गुरुयोजनाको कार्य अघि सारेको हो ।

प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीले रानीपोखरी, रत्नपार्क, खुल्लामञ्च, टुँडिखेल, शहीदगेट, दशरथ रंगशाला, भृकुटी मण्डपलगायत भागलाई समावेश गरी बृहत् गुरुयोजना बनाइरहेको जानकारी दिए । ‘यसबारेमा सम्बन्धित पक्षसँग परामर्श जारी छ, सबै पक्षबीच सहमति जुटेपछि यसलाई अन्तिम रूप दिनेछौं’, उनले भने ।

प्राधिकरणले बृहत् गुरुयोजनाअन्तर्गत हनुमान ढोका दरबार क्षेत्रसमेतलाई समेट्ने योजना बनाएको छ । पहिलो चरणको कामका लागि साढे दुई अर्ब रुपैयाँभन्दा बढी बजेट आवश्यक पर्ने प्राधिकरणको अनुमान छ भने अन्य चरणको अध्ययन काम भइरहेको जनाएको छ । पहिलो चरणअन्तर्गतको रकम हनुमानढोका दरबार क्षेत्र, रानीपोखरी र काठमाडौंको ‘कोर–सिटी’ पुनर्निर्माणमा खर्च गर्ने प्राधिकरणको लक्ष्य छ ।

प्राधिकरणले सम्बन्धित पक्षसँगको छलफलपछि बृहत् गुरुयोजना सार्वजनिक गर्ने र त्यसपछि सो गुरुयोजनाको कार्यान्वयनका लागि दातृ संस्थासँग बजेट मागको आग्रह गर्ने तयारी गरेको छ । प्राधिकरणले प्रधानमन्त्री ओलीसँग परामर्श गरेर यो काम अघि बढाएको हो । प्रधानमन्त्रीले आर्थिक स्रोतको अभावले काम नरोकिने भन्दै गुरुयोजनाको काम अघि बढाउन निर्देशन दिएका थिए ।

प्राधिकरणका अनुसार बृहत् टुँडिखेल गुरु योजनामा विभिन्न चरणका योजना समेटिएका छन् । पहिलो चरणको नक्सा तयार भइसकेको छ । रानीपोखरी पुनर्निर्माणलाई प्राधिकरणले यसैभित्र समेटेको छ । रानीपोखरीसँगै जोडिएको त्रिचन्द्र कलेज र रत्नपार्क हुँदै खुला मञ्चसम्मको भूभाग यस चरणमा समेटिने छन् । रानीपोखरी र रत्नपार्कबीचको प्रहरी कार्यालयलाई हटाउने तयारी छ ।

त्रिचन्द्र कलेजलाई हटाउनेबारे प्राधिकरण निष्कर्षमा पुग्न सकेको छैन । योजनाअनुसार रानीपोखरी र रत्नपार्कबीचको बाटोमा सवारी आवागमन समेत बन्द हुनेछन् । त्यहाँ पैदलयात्रु मात्र हिँड्न पाउनेछन् । प्राधिकरणद्वारा दोस्रो चरणको योजनाअन्तर्गत रानीपोखरीबाट उत्तर नारायणहिटी हुँदै केशरमहलसम्मको योजना र दक्षिणमा टुँडिखेल, सैनिक मैदान हुँदै रंगशालासम्मको योजना समेटिएका छन् । राजधानी दैनिकबाट

Featured