देश

महिलालाई आत्मनिर्भर बनाउन बुटवल उपमहनगरको विषेश अभियान

बुटवल, माघ १७–बुटवल उपमहानरगपालिकाले महिलाहरूलाई उद्यमी, स्वावलम्बी र कामकाजी बनाउन विशेष अभियान सुरू गरेको छ । महिला आर्थिक सशक्तिकरण उद्यमशील विकास परियोजना नामक कार्यक्रममार्फत महिलाहरूलाई उद्यमशील र आत्मनिर्भर बनाउने उपमहानगरको लक्ष्य छ ।

तालीम लिइरहेका र तयारीमा रहेका महिलाहरू, प्रशिक्षक, व्यवस्थापकहरूलाई उपमहानगरको सभाहलमा भेला गराएर अभिमुखीकरणसमेत गराइएको छ । सो अवसरमा बोल्दै बुटवल उपमहानरगपालिकाका प्रमुख शिवराज सुवेदीले लैङ्गिक समता, प्रजनन स्वस्थता, जीवनोपयोगी शिक्षा तथा पुगिसरी सम्पन्नता र संस्थागत सहभागिताका लागि व्यावहारिक तालीमहरू सञ्चालन गरिएको बताए ।

महिला आर्थिक सशक्तिकरण उद्यमशील विकास परियोजना त्यसैको एउटा रूप रहेको उनको भनाइ थियो । उपमहानगरले सीप सिकाउने मात्रै नभई सिकेको सीपलाई व्यवहारमा उतार्नसमेत सहयोग गर्ने प्रमुख सुवेदीले स्वावलम्बी नागरिक उत्पादनबाटै समृद्धि हासिल हुने बताए । बुटवल उपमहानगरपालिकाले नीति तथा कार्यक्रम र बजेटमै महिलाको आयआर्जन बढाउने, आर्थिक पक्ष सुदृढ पार्ने र समतामूलक समाज निर्माणमा सबैको हातोमालो गराउने खालका कार्यक्रमहरू समावेश गरेको छ ।

Featured