देश शिक्षा

शिक्षा सुधारका लागि कचनकवल गाउँपालिकाको विशेष अभियान

विराटनगर, माघ १७–निजीको तुलनामा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किँदै गइरहेको भन्दै दक्षिणी झापाको कचनकवल गाउँपालिकाले नीति तथा कार्यक्रममै शिक्षा सुधारका लागि विशेष अभियान सुरु गरेको छ । अभियानसँगै गाउँपालिकाले एक वडा, एक नमुना बाल विकास केन्द्र स्थापना गरेको छ । गाउँपालिकाले चालू आर्थिक वर्ष २०७६र७७ मा सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि छुट्टै बजेट विनियोजना गरेको छ ।

सोही बजेटबाटै गाउँपालिकाले यस वर्षदेखि ‘एक वडा, एक नमुना बाल विकास केन्द्र’ स्थापना कार्यको थालनी गरेको छ । गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले कचनकवल– ५ डाँगाबारीस्थित पशुपति प्राथमिक विद्यालयमा नमुना बाल विकास केन्द्रको स्थापना गरेको छ । नमुना बाल विकास केन्द्रको उद्घाटन संघीय सांसद राजेन्द्र लिङदेनले गरेका छन् । गाउँपालिका र संघीय सांसदको क्षेत्र विकास कोषबाट प्राप्त बजेटले यस वर्ष गाउँपालिकाका सातवटै वडामा सातवटा नमुना बाल विकास केन्द्रको स्थापना गर्ने योजना छ । विकासको मूल जड नै शिक्षा रहेकाले बाल विकास केन्द्रको सञ्चालनमा जोड दिइएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले बताए ।

पशुपति प्राविमा स्थापना गरिएको नमुना बाल विकास केन्द्रसँगै गाउँपालिकामा शैक्षिक सुधारको कामको सुरुवात भइसकेको उनले बताए । नमुना केन्द्रमा मण्टेश्वरी विधिसहित खेल सामग्री, सिकाइ सामग्री, टेलिभिजन, शौचालय, स्वच्छ खानेपानी र पङ्खा जडान गरिएको गाउँपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख छवि बस्नेतले बताए ।

आदिवासी समुदायको बाहुल्य रहेको गाउँमा २०२९ सालमा पशुपति प्राविको स्थापना भएको हो । निजी विद्यालय विस्तार हुनुअघि विद्यालयमा विद्यार्थीको चाप उच्च भए पनि अहिले विद्यार्थीको संख्या घट्दो क्रममा रहेको विद्यालयका प्रधानाध्यापक अनिलकुमार गणेशले बताए । गाउँपालिकामा रहेका २९ वटा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि गाउँपालिकाले चाल्र आवमा १२ कक्षासम्म निःशुल्क र छात्रालाई कलेजमा निःशुल्क शिक्षाको व्यवस्था गरेको छ ।

Featured