देश सूचना/ प्रबिधि

युट्युव, फेसबुक र ट्विटरमा विदेशी विज्ञापन गर्न प्रतिबन्ध

काठमाडौँ, माघ १७–पछिल्लो समय नेपालमा इन्टरनेटलाई माध्यम बनाएर सञ्चालनमा रहेका सामाजिक सञ्जाल फेसबुक, युट्युब, ट्विटरलगायतमा विज्ञापन गर्ने क्रम बढ्दो छ । तर, अबदेखि यस्ता सञ्जालहरूमा विज्ञापन गर्न नपाइने भएको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार एक सूचना प्रकाशित गर्दै अबदेखि त्यस्ता सामाजिक सञ्जालमा विज्ञापन नगर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले अबदेखि फेसबुक, युट्युब, ट्विटरलगायतका सामाजिक सञ्जालमा विज्ञापन गरेको पाइएमा कडा कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

राष्ट्र बैंकले आज प्रकाशित गरेको सूचनामा सामाजिक सञ्जालमा विज्ञापन गर्नु गैरकानुनी काम भएको उल्लेख गर्दै त्यस्तो कार्य गरेमा विदेशी मुद्रा अपचलनको अभियोगमा मुद्दा लगाइने बताएको छ । सामाजिक सञ्जालमा विज्ञापन गर्दा त्यसको भुक्तानी र विज्ञापनबापत प्राप्त हुने रकमको कारोबार गैरकानुनी रहेकाले रोक लगाइएको राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकको सूचनामा भनिएको छ, ‘फेसबुक, ट्वीटर, युट्युबजस्ता सामाजिक सञ्जाल तथा इन्टरनेटमार्फत गरिने विज्ञापनबापत अनौपचारिक माध्यमबाट विदेशमा भुक्तानी पठाउने र विदेशबाट त्यसरी रकम प्राप्त गर्ने कार्य गैरकानुनी हो, यस्तो कारोबारबाट विदेशी विनिमय अपचलन हुने भएकाले कसैले त्यसरी कारोबार गरेको पाइएमा विदेशी विनिमय ऐन २०१९ र प्रचलित कानुनबमोजिम कारबाही हुने व्यहोरा सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

Featured