विदेश सूचना/ प्रबिधि

मलेसियामा भ्रामक समाचारको लिंक सेयर गरे ५० हजार रिंगिट जरिवाना

काठमाडौँ, माघ १७–मलेसिया सरकारले सामाजिक सञ्जालमा भ्रामक समाचारको लिंक सेयर गर्नेमाथि कडा कानुनी कारबाही गर्न थालेको छ । मलेसिया सरकारले कोरोना भाइरससम्बन्धी गलत समाचार सेयर गर्नेहरूलाई धमाधम पक्राउ गरी कारबाही गर्न थालेको मलेसियाका सञ्चारमाध्यमले जनाएका छन् ।

मलेसियाले चीनबाट सुरु भएको नोबल कोरोना भाइरससम्बन्धी गलत समाचार फैलाएर आतंकित बनाउने काम गरेको भन्दै ६ जनालाई पक्राउ गरिसकेको छ । यसरी पक्राउ पर्नेहरूमा औषधि पसलका सञ्चालकदेखि बैंकका कर्मचारीसम्म रहेको मलेसियाली स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । मलेसिया सरकारले रोजगारीका लागि मलेसियामा रहेका विदेशी श्रमिकलाई जथाभावी समाचार सेयर नगर्न आग्रहसमेत गरेको छ । समाचारअनुसार गलत समाचार सेयर गर्ने व्यक्तिलाई ५० हजार रिंगिट जरिवाना, एक वर्ष कैद वा दुवै सजाय हुने भनिएको छ ।

तसर्थ रोजगारीका क्रममा मलेसियामा रहेका सम्पूर्ण नेपालीलाई त्यस्ता भ्रामक समाचार सेयर नगर्न क्वालालम्पुरस्थित नेपाली दूतावासले आग्रह गरेको छ । करिब ५ लाख नेपाली कार्यरत रहेको मलेसियामा पनि नोवल कोरोना भाइरसका बिरामी फेला परेका छन् । तीन जनामा सो भाइरस फेला परेको त्यहाँको स्वास्थ्य मन्त्रालयले स्पष्ट पारेको छ ।

Featured