देश

संसदको शून्य समयः शौचालयदेखि सडक निर्माणसम्मको बहस

काठमाडौँ, माघ १६–बैठकमा नेकपाकी सांसद आशाकुमारी विकले नेपाल खुल्ला दिशामुक्त क्षेत्र घोषणा भए पनि काठमाडौँको महानगरमा सार्वजनिक शौचालय नहुँदा यात्रु र बटुवाले दुःख पाएको बताएकी छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा शून्य समयमा बोल्दै सांसद विकले काठमाडौँमा ६० भन्दा बढी शौचालय भए पनि २० वटा मात्र शौचालय सञ्चालनमा आएको र रिङरोडमा सार्वजनिक शौचालय नहुँदा सवारी यात्रु र सवारी चालकसमेत समस्यामा पर्ने गरेको बताइन्।

नेकपाका सांसद गोपालबहादुर बमले केन्द्र सरकारको राष्ट्रिय गौरवको आयोजना मुगुमा एउटा पनि नभएको भन्दै दुर्गम जिल्लालाई सरकारले अछुतो व्यवहार गरेको आरोप लगाए । संघीय सरकारले गमगढी–नाप्चे सडक निर्माण गर्ने भनेर आयोजना कार्यालय स्थापना गरे पनि आयोजनामा एक जना कार्यालय सहयोगी मात्र रहेको र बाँकी १३ कर्मचारी उपस्थित नै नभएको दाबी गरे । उनले गमगढीबाट ९४ किलोमिटर मात्र बाटो निर्माण गरे तिब्बतको नाका पुग्ने जनाए ।

नेकपाका सांसद झपटबहादुर रावलले कैलालीको चिसापानीदेखि कञ्चनपुरको गड्डाचौकीसम्मको सडक ८ लेनको बनाउन माग गरे । उनले सो सडक खण्ड साँघुरो र एक लेनको हुँदा दुर्घटनामा वृद्धि भएको गुनासो गरे । कांग्रेस सांसद उमा रेग्मीले बाजुरा जिल्ला छेडेदहका २२ वर्षीय हेमबहादुर राउतको महानगरीय प्रहरी वृत्त बानेश्वरको हिरासतमा मृत्यु भएको भन्दै घटनाको छानविन गर्न माग गरिन् । उनले प्रहरी हिरासतमा भएको मृत्युको घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरिन् । नेकपाका सांसद खगराज अधिकारीले पोखरा विमानस्थलका लागि १ सय ४ रोपनी जग्गा अधिग्रहण गरिने हल्ला सत्य हो कि होइन भनी सरकारसँग जवाफ माग गरे ।

Featured