देश

रसुवामा कोरोना भाइरस नभएको पुष्टि

रसुवा, माघ १७–रसुवा जिल्लामा कोरोना भाइरसका संक्रमित बिरामी हालसम्म फेला नपरेको चिकित्सकले बताएका छन् । रसुवा जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. अनिलकुमार खरेलले रसुवा जिल्ला नेपाल–चीन छिमेकी देशबीचका नागरिक आवतजावत गर्ने जिल्ला भए पनि कोरोना भाइरसका बिरामी हालसम्म फेला नपरेको स्पष्ट गरे । चिकित्सकको प्रमाणित बेगर अन्य कुनै पनि व्यक्तिले यो रोग र त्यो रोग भनी व्याख्या गर्नु गलत हुनेहुँदा कोही कसैले गरेका टीकाटिप्पणी एवं हल्लाको पछि नलाग्न रसुवावासीलाई आग्रह गरिएको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

उपचारका क्रममा अस्पताल आएका एक बिरामीको कोरोना भाइरसको आशंका भन्ने बिहीबारको हल्ला पुष्टि नभएको र उनको थप उपचारार्थ उपकरणयुक्त काठमाडौँस्थित टेकु अस्पतालमा पठाइएको रसुवा अस्पतालले जनाएको छ । उपचारार्थ आउने बिरामीमध्ये जटिल अवस्था भएकालाई परीक्षण उपकरणको अभाव अवस्थामा मात्र काठमाडौँ पठाइएको र अन्यको उपचार स्थानीय अस्पतालमा भइरहेको अस्पतालले जनाएको छ ।

हिमपातको असरले रसुवामा चिसो बढिरहेका कारण ज्वरो तथा रूघाखोकी जस्ता समस्या बढ्न सक्ने भएकाले चिकित्सकको प्रमाणितबेगर त्रास फैलिने खालका हल्ला नगरिदिन सम्बद्ध सबै पक्षसँग आग्रह गरिएको समेत डा. खरेलले बताए । चीनमा फैलिएको सो भाइरस सीमा क्षेत्रबाट नेपालमा सर्न नदिन १५ माघदेखि १५ दिनका लागि चिनियाँ अधिकारीले रसुवागढीदेखि केरूङसम्मको २४ किलोमिटर राजमार्ग क्षेत्रको आवतजावतमा रोक लगाइसकेको सीमासुरक्षा अधिकारीले बताएका छन् ।

सीमाक्षेत्रका चिनियाँ अधिकारीले आवतजावतमा रोक लगाएपछि १५ माघदेखि सवारीसाधन र मानिसको आवतजावत पूरै रोकिएको र सामान खरिदका लागि मितेरी पुलपारि गढीबजारसम्म आवतजावत भने भइरहेको बताइएको छ । चीनसँग सिमानासँग जोडिएको भए पनि रसुवामा भाइरसको संक्रमण हालसम्म नभेटिएको र जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रोग नियन्त्रणका लागि सीमाक्षेत्रमै विभिन्न प्रयास भइरहेकाले हल्लाको पछि नलाग्न रसुवावासीलाई आग्रह गरिएको सहायक प्रजिअ सपनाकुमारी भट्टराईले बताइन् । रासस

Featured