देश साहित्य

५ बुँदे घोषणपत्र जारी गर्दै सकियो पहिलो राष्ट्रिय गजल महोत्सव

काठमाडौँ, माघ १७–नेपाल प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय युवा परिषदको सहकार्यमा आयोजना गरिएको पहिलो राष्ट्रिय गजल महोत्सव २०७६ ५ बुँदे घोषणपत्र जारी गर्दै बिहीबार सम्पन्न भएको छ । २ दिने सो महोत्सव अबको गजल लेखन र दिशामा ५ बुँदे घोषणपत्र जारी गर्दै समापन भएको हो । घोषणपत्रमा नेपाली गजल प्रणेता मोतीराम भट्टप्रति श्रद्धासुमन व्यक्त गर्दै नेपाली गजल साहित्यमा प्रवेश गरेको सवा शताब्दीभन्दा बढी भएको अवस्थामा नेपाली गजल लेखनको इतिहास र परम्पराप्रति सम्मान प्रकट गरिएको छ ।

गजलको सैद्धान्तिक पक्षलाई आत्मसात् गर्दै गजल बहर वा छन्दमा लेखिनुपर्ने भन्ने कुरालाई मनन गरी नेपाली गजलको मौलिक पक्षलाई सम्मान गरिएको छ । गजलमा अन्तर्वस्तु र रूप पक्षमा सन्तुलन हुनुपर्ने कुरालाई अङ्गिकार गर्दै विचार, तर्क र कल्पनाको प्रस्तुति चमत्कारपूर्ण हुनुपर्ने कुरामा सहमति भएको छ । नेपाली गजलको विकास, समृद्धि र सम्मानका निम्ति नेपाल प्रज्ञा–प्रतिष्ठानले राष्ट्रिय गजल महोत्सव वर्षमा एक पटक आयोजना गर्न सभाले अनुरोध गरेको छ ।

Featured