देश

गर्भवतीलाई उपाध्यक्षको कोसेली उपहार

बैतडी, माघ १७–सुत्केरी र नवजात शिशुको स्वास्थ्यलाई लक्षित गर्दै बैतडीको शिवनाथ गाउँपालिकाले गर्भवतीलाई उपाध्यक्षको कोसेली वितरण कार्य सुरु गरेको छ । गाउँपालिकाका सबै स्वास्थ्य संस्थालाई कोसेली हस्तान्तरणपछि सुत्केरीलाई कोसेली वितरण भइरहेको छ । शहीद दिवसका अवसरमा बिहीबारदेखि कोशेली वितरण जारी रहेको गाउँपालिका उपाध्यक्ष कृष्मा चन्दले जानकारी दिइन् । ‘उपाध्यक्षको कोसेली कार्यक्रमको पोषिलो आहार, शिशुको स्याहारमाथि स्वस्थ बालक स्वच्छ नागरिक’ भन्ने नाराका साथ कार्यक्रम ल्याएको उनले जानकारी दिइन् ।

‘उपाध्यक्षको कोसेलीमा कोदो, दाल, साबुन, सोडा, ज्वानो, कोलगेट, ब्रस, तोरीको तेल, नेलकटरलगायतका सामग्रीसहितको झोला सुत्केरीलाई उपहार दिइनेछ,’ उनले भनिन्, ‘प्रत्येक गर्भवतीसँग अन्तरक्रिया गर्ने र गर्भवतीको घरमा झन्डा गाड्ने कामक्रम बनाएका छौँ ।’ सरसफाइ र पोषणमा सुधार गर्न गाउँपालिकाका प्रत्येक स्वास्थ्य संस्थावाट उपाध्यक्षको कोसेली वितरण गर्न लागिएको हो । संस्थागत सुत्केरीलालाई निरन्तरता तथा बढाउन उपाध्यक्षको कोसेली वितरण कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

Featured