देश

भारत लैजाँदै गरेका २ युवतीको उद्धार

भद्रपुर, माघ १७–नेपाल प्रहरीले वैदेशिक रोजगारको प्रलोभन देखाई भारततर्फ लैजाँदै गरिएका दुई युवतीलाई पूर्वी नाका काँकडभिट्टाबाट उद्धार गरेको छ । साथै, मानव बेचबिखनको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा दोलखा तामाकोशी गाउँपालिका–४ घर भएका २१ वर्षीय सुदीपबाबु पोखरेल रहेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए । पोखरेललाई मानव बेचबिखन तथा ओसारपसारको मुद्दा चलाई अनुसन्धान भइरहेको उनले बताए ।

अभियुक्तले काभ्रेपलाञ्चोक घर भएका १६ र २२ वर्षीया युवतीलाई भारतमा २२ हजार रुपैयाँको जागिर लगाइदिने प्रलोभन देखाई लैजाँदै गरेको अवस्थामा बिहीबार काँकडभिट्टाबाट साना हातहरू नेपाल नामक संस्था र प्रहरीले संयुक्त रूपमा उद्धार गरेका थिए । उद्धार गरिएका युवतीलाई संस्थाको संरक्षण गृहमा राखिएको छ । रासस

Featured