देश

सुन्तला बेचेर २३ लाख रूपैयाँ आम्दानी

स्याङ्जा, माघ १७–आम्दानीको मुख्य स्रोतका रूपमा रहेको सुन्तला बिक्री गरेर स्याङ्जाका एक सुन्तला व्यवसायीले २३ लाख रूपैयाँ बढी आम्दानी गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका– ७, सिरौँसाका भूपराज भण्डारीले यस वर्ष सुन्तला बिक्रीबाट २३ लाख १७ हजार रूपैयाँ आम्दानी गरेका हुन् । सुन्तला व्यवसायी भण्डारीले यसपटक ३० टन सुन्तला बोटबाटै बिक्री गरी २३ लाख १७ हजार रूपैयाँ आम्दानी गरेको बताए । सुरूमा प्रतिकेजी ५० र अहिले प्रतिकेजी ८० रूपैयाँका दरले बगैँचाबाट नै सुन्तला बिक्री गरेर सो आम्दानी गरेका हुन् ।

३ वर्षमा क्रमशः २२ लाख, १७ लाख र २२ लाख रूपैयाँको सुन्तला बिक्री गर्दै आएका भण्डारीको आम्दानीको मुख्य स्रोत भनेकै सुन्तला हो । पुराना बोट हटाउने र सो ठाउँमा नयाँ बोट लगाउनाले सुन्तलाबाट वार्षिकरूपमा हुँदै आएको आम्दानी नघट्ने भण्डारीको भनाइ छ । बुबाले ४५ वर्षदेखि सुरू गरेको सुन्तलाखेतीलाई भण्डारीले व्यावसायिक रूपमा अगाडि बढाएका हुन् । यहाँ उत्पादन भएको सुन्तला लिन बुटवल, पोखरा, नवलपरासी, नारायणगढदेखि व्यापारी सुन्तला बगैँचामा आउने गरेका भण्डारीको भनाइ छ । रासस

Featured