देश

सम्पूर्ण स्थानीय तहमा ब्रोडब्यान्ड पुग्ने

काठमाडौं, माघ १७–चालू आर्थिक वर्षमा सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट सेवा (ब्रोडब्यान्ड) पुग्ने भएको छ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको ग्रामीण दूरसञ्चार कोषमार्फत् सबैजसो दुर्गम भेगमा ब्रोडब्यान्ड पुर्याइसकेको छ । यद्यपि, १२ वटा जिल्लामा भने ब्रोडब्यान्ड कनेक्सन पुर्याउने प्रक्रियामा नै रहेको छ । अझै पनि आर्थिक वर्षको ६ महिना बाँकी रहेको हुँदा ती क्षेत्रमा पनि ब्रोडब्यान्ड पुग्ने ठम्याइ प्राधिकरणको छ ।

प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले भने, ‘सबै स्थानीय तहका वडा कार्यालय, स्वास्थ्य केन्द्र तथा सामुदायिक माध्यमिक विद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट विस्तार गर्ने कार्य आगामी वर्षभित्र सम्पन्न हुनेछ ।’ प्राधिकरणले कोषमार्फत १८ आयोजनाको काम ५१ प्रतिशत सम्पन्न गरिसकेको जनाएको छ । तीमध्ये १० वटा सम्पन्न भएको र पाँचवटा आयोजनाको काम चालू अवस्थामा रहेको छ ।

१२ वटा जिल्लामा ब्रोडब्यान्ड विस्तार गर्न तीनवटा आयोजनाका लागि भने सेवा प्रदायक चयन गर्न बाँकी छ । भौगोलिक हिसाबले सुगम ठहरिएका चितवन, नवलपरासी, नवलपुरलगायतका जिल्लामा यो योजनाको सेवा प्रदायक छान्न बाँकी भएकाले यो वर्ष्भित्र नै ब्रोडब्यान्ड पुग्ने दाबी प्राधिकरणको छ । ५१२ केबीपीएसभन्दा माथिको इन्टरनेट प्रवाह हुनुलाई ब्रोडब्यान्ड भनिन्छ । थ्री जी, फोर जी ब्रोडब्यान्डमा पर्दछ । एडीएसएलसहित सबैजसो इन्टरनेट सेवा प्रदायकले प्रदान गर्ने इन्टरनेट सेवा ब्रोडब्यान्ड नै हो । करिब ७ अर्ब लगानीमा स्थानीय तहका कार्यालय, वडा कार्यालय, सामुदायिक विद्यालय र स्वास्थ्य संस्थामा ब्रोडब्यान्ड पुर्याउन लागिएको हो । राजधानी दैनिकबाट

Featured