देश

भुक्तानीको भुमरीमा प्रदेश २ : पाँच सय ९० योजनाको ८६ करोड बजेट निकासा बाँकी

जनकपुर, माघ १७–प्रदेशसभा सदस्य शारदादेवी थापा हिजोआज आफ्नो निर्वाचन क्षेत्र जान डराउँछिन् । उनले प्रदेश सरकारमार्फत आर्थिक वर्ष २०७५/७६ मा ९० लाख बजेटको योजना महोत्तरी क्षेत्र नम्बर १ (क) मा लगेकी थिइन् । उपभोक्ता समितिमार्फत काम गराए पनि अझै भुक्तानी भएको छैन ।

चालू आवको सातौं महिना चलिरहँदासम्म भुक्तानी नपाउँदा उपभोक्ता समिति आक्रोशित छन् । उनीहरूले सांसद थापालाई ब्याजसहित रकम मागेर हैरान बनाएका छन् । ‘घरबाट लगानी गरी योजना सम्पन्न गरेका उपभोक्ताले लागतको ब्याज माग्न थालेका छन्’, जनकपुरमा हालै एक कार्यक्रममा भेटिएकी उनले भनिन्, ‘निर्वाचन क्षेत्रमा मुख देखाउने अवस्था छैन ।’ यसमा उनले प्रदेश सरकारप्रति आक्रोश जनाइन् । भनिन्, ‘हामीलाई अब कानुन निर्माणसँग मतलब छैन, पहिला भुक्तानी हुनुर्पयो।’

नेकपा सांसद थापा झैं प्रदेश २ मा अधिकांश सांसदलाई आफ्नो क्षेत्रमा जान समस्या भएको छ । प्रदेश सरकारले आर्थिक वर्षको अन्त्यमा विभिन्न मन्त्रालयबाट सांसदहरूमार्फत करिब १ अर्बको योजना बाँडेको थियो । ती योजनामध्ये कतिपयको काम जेनतेन सकेर बिल भर्पाइ पेस गरी भुक्तानी लिइयो । अधिकांशको काम र समयमा मूल्यांकन अनुगमन नहुँदा भुक्तानी अड्कियो । ५ सय ९० योजनाको ८६ करोडभन्दा बढी बजेट उपभोक्ता समितिले पाएका छैनन् । सोही रकमको माग गर्दै उपभोक्ताले सांसदलाई क्षेत्रमा घेर्न थालेका छन् ।

‘प्रदेश सरकारको गलत निर्णयले गाउँ, समाजमा इज्जत गुमाउन बाध्य छौं’, नेकपाकै अर्की सांसद मञ्जु यादवले भनिन् । उनले ५० लाखको योजना आफ्नो क्षेत्रमा लगेकी थिइन् । असार २३ गते सबै काम फाइनल गरी बिल भर्पाइका लागि प्राविधिक कार्यालयमा बुझाए पनि भुक्तानी रोकिएको उनको गुनासो छ । अन्नपूर्ण पोष्टबाट

Featured