देश

वैदेशिक रोजगारीमा जानेलाई विनाधितो ऋण

धनुषा, माघ १६–वैदेशिक रोजगारीमा जाने प्रदेश २ का युवाहरुलाई प्रदेश सरकारको समन्वयबाट सहुलियत दरमा विनाधितो ऋण दिन थालिएको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैंकबीच भएको सम्झौताअनुसार बिहीबारबाट युवाहरुले ऋण पाउन थालेका हुन् । जनकपुरमा आयोजित एक कार्यक्रमका बीच मुख्यमन्त्री लालबाबु राउतले प्रभु बैंकको वैदेशिक रोजगार कर्जाको आरम्भ गरे । बिहीबार ९ जना युवाले ऋण पाएका छन् ।

मुख्यमन्त्री राउतले साहुबाट ऋण लिएर वैदेशिक रोजगारीमा जानु पर्ने युवाहरुको बाध्यता केही हदसम्म समाधान हुने विश्वास व्यक्त गरे । उनले युवाहरुलाई सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जान पनि आग्रह गरेका छन् । प्रदेश २ मा नेपाल एसबीआई बैंकले समेत यो सेवा बुधबारबाट सुरुआत गरेको छ । प्रदेश सरकार, सीप परियोजना र प्रभु बैक तथा एसबीआई बैंकबीच गत साउनमा यससम्बन्धी सम्झौता भएको थियो । सोही सम्झौताअनुरुप बैंकहरुले ऋण सेवा सुरु गरेका हुन्।

प्रभु बैकले सप्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा यो सेवा दिनेछ । सिरहा, धनुषा र महोत्तरीमा एसबीआई बैंकले ऋण सेवा दिने सम्झौता भएको छ । यस योजनाअन्तर्गत वैदेशिक रोजगारीमा जाने युवाहरुले पासपोर्ट बनाउने बित्तिकै बैंकमा नागरिकता, पासपोर्ट र ४ प्रति फोटोसहित निवेदन दिनु पर्नेछ । त्यसपछि बैंकले वैदेशिक रोजगारमा जाने व्यक्तिको नाममा बचत खाता खोलिदिने र भिसा, श्रम सम्झौता बैँकमा जम्मा गरेपछि पाँच दिनभित्र कर्जा उपलब्ध गराउने प्रावधान राखिएको छ ।

Featured