देश

कर्णाली एक्स्पोमा सेल्फी जोन निर्माण हुने

सुर्खेत, माघ १६–कर्णाली प्रदेश सरकार र निजी क्षेत्रको साझेदारीमा वीरेन्द्रनगरमा अग्र्यानिक कृषि, उद्योग, पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव–२०७६ आयोजना हुने भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण, भूमि व्यवस्था, कृषि तथा सहकारी, सामाजिक विकास मन्त्रालय र सुर्खेत उद्योग वाणिज्य संघको संयुक्त साझेदारीमा अगामी ६ देखि फागुन १७ गतेसम्म दोस्रो चरणको कर्णाली एक्स्पो आयोजना हुन लागेको हो ।

संघका अध्यक्ष धनबहादुर रावतले महोत्सवमा कृषिलाई विशेष ग्राहयता दिनुका साथै कर्णालीको पहिचान एवं पर्यटन प्रवद्र्धनलाई मुख्य आधार बनाइने जानकारी दिए । उनका अनुसार प्राङ्गारिक कृषिसँग सम्बन्धित मात्रै १ सय प्रदर्शनी कक्ष रहने छ । बेलायतको लण्डन ब्रिजको संरचनाअनुसारको मूल गेट, दुबईको बुर्ज खलिफा र मलेसियाको ट्विन टावरस्वरुपका संरचना बनाई सेल्फी जोन निर्माण गरिनेछ ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले एक्स्पोमा कृषि सम्मेलनको पनि आयोजना गर्ने बताए । प्राङ्गारिक कृषि, जैविक विविधताको संरक्षण, जैविक विषादी, जैविक मल, रैथाने बाली संरक्षणका लागि विज्ञसहित सरोकारवालाको सहभागिता रहने गरी टक सो कार्यक्रम सञ्चालन हुने उनले जानकारी दिए । सङ्घले हरेक तीन वर्षमा एकपटक महोत्सव सञ्चालन गर्दै आएको छ । सङ्घले एक्स्पोबाट प्राप्त आम्दानीको ५० लाख रुपैयाँ अक्षयकोष बनाई प्रकोप पीडितलाई राहत दिने जनाएको छ । रासस

Featured