देश

प्रदेश २ मा प्रविधिमा किशोरी परियोजना सुरू

जनकपुरधाम, माघ १५–प्रविधिमा किशोरी (गर्ल्स इन टेक) परियोजनाको आजदेखि सुरू भएको छ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत तथा श्रम रोजगार र सामाजिकमन्त्री रामेश्वरराय यादवले संयुक्तरूपमा सो परियोजनाको शुभारम्भ गरे । सो अवसरमा मुख्यमन्त्री राउतले प्रविधिक युगअनुरूप प्रदेशमा जनशक्ति उत्पादन गरी प्रदेशलाई प्राविधिक शिक्षाको हब बनाउने सरकारको नीति भएको र यो परियोजना सो अभियानलाई सार्थक तुल्याउन सहयोगीसिद्ध हुने धारणा राखे ।

मन्त्री यादवले वर्तमान प्रविधिको युग भएकाले किशोरीलाई प्रविधितर्फ ध्यानाकर्षण गराई दीक्षित गर्नु आवश्यक रहेको बताए । यूकेएडको रोजगारीका लागि सीप कार्यक्रमअन्तर्गत जिनसी सोलुसन्स नामक गैरसरकारी संस्थाको सहकार्यमा सो परियोजनाको थालनी गरिएको हो । लैङ्गिक असमानतालाई हटाउने सन्दर्भमा प्रविधिमा लगाव राख्ने किशोरीलाई शिक्षित एवं सशक्तीकरण गर्नु यस परियोजनाको उद्देश्य छ ।

यस परियोजनाअन्तर्गत प्राविधिक पाठ्यक्रम तथा नेतृत्वसम्बन्धी तालीमदेखि ह्याकाथन तथा प्रतिस्पर्धामा आत्मविश्वाससँगै सहभागी हुने तरिका र सहयोग गरी प्रविधिको क्षेत्रमा सफल हुनका लागि आवश्यक पर्ने पहुँचको समुदाय बनाउने लक्ष्य राखिएको छ । रासस

Featured