देश

बाल यौन शोषण ‘आउट अफ द स्याडो’ प्रतिवेदन सार्वजनिक

काठमाडौं, माघ १५–बाल यौन शोषण र दुर्व्यवहारलाई लिएर ‘आउट अफ द स्याडो’ प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनअनुसार ४६.४ अंक प्राप्त गर्दै नेपाल ६० देशमध्ये ३९ स्थानमा रहेको छ । दक्षिण एसिया क्षेत्रमा बंगलादेश ९३५.३० र पाकिस्तान ९२८.६० भन्दामाथि तर भारत ९५८.२० र श्रीलंका ९५१.५० रहेका छन् ।

विश्वका ९७ देशमा कार्यरत अन्तर्रा्ष्ट्रिय गैरसरकारी संस्था ईसीपीएटी, बालअधिकारका लागि नेपालमा पैरवी गर्दै आएको संस्था सिविन, महिला बेचबिखन रोकथाममा क्रियाशील संस्था माइती नेपाल र शक्ति समूहले आज ललितपुरमा सो प्रतिवेदनमा छलफल गरेका हुन् । उनीहरूले नेपाल सरकारले बालबालिकालाई यौन शोषणबाट मुक्त गर्न आवश्यक ऐन कानुन अविलम्ब ल्याउनुपर्नेमा जोड दिएका छन् ।

बाल यौन शोषण र दुर्व्यवहारसम्बन्धी राष्ट्रिय नीतिगत खाका बन्नुपर्ने, अपराध नियन्त्रण प्रयासमा अवरोध गर्नेलाई कडा कानुनी कारबाही हुनुपर्ने आवश्यकता औँल्याउँदै बालबालिका ओसारपसार र अनलाइन दुर्व्यवहार तथा शोषणको अन्त्यका लागि राष्ट्रिय नीति तर्जुमा र त्यसको कार्यान्वयन अपरिहार्य भएको उनीहरूले बताए ।

राष्ट्रहरूले बाल यौन शोषण र दुर्व्यवहार कसरी सम्बोधन गरिरहेको छ भन्ने कुरा आर्थिक बुद्धिमत्ता इकाइले तयार पारेको आउट अफ द स्याडो सूचकांकले मापन गर्दछ । प्रतिवेदनले सरकार, निजीक्षेत्र र नागरिक समाजले बालबालिकालाई यौन हिंसाबाट सुरक्षित राख्न र संयुक्त राष्ट्रसंघीय र दिगो विकास लक्ष्य १६.२ का हकमा आफ्ना प्रतिवद्धता पूरा गर्न अझै बढी प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने औँल्याएको छ । रासस

Featured