देश

सम्पदाको उपयोग मात्रै नभई संरक्षण गर्न आग्रह

मकवानपुर, माघ १५–राष्ट्रपति विद्यादेवी भण्डारीले प्राकृतिक, सांस्कृतिक सम्पदाले नेपाल धनी भएकाले ती सम्पदाको दिगो सदुपयोग गरी समृद्ध नेपाल निर्माण गर्न सकिने बताएकी छिन्। हेटौंडा उपमहानगरपालिका ११ स्थित सहिद स्मारकमा प्रजातान्त्रिक पार्कको मंगलबार उद्घाटन गरेपछि उनले प्राकृतिक सम्पदाको उपयोग मात्र होईन सन्तुलित रुपमा संरक्षण पनि गर्नुपर्ने बताइन् ।

‘बागमती प्रदेश पनि प्राकृतिक, सांस्कृतिक सम्पदाको दिगो सदुपयोग गर्दै सुखी नेपाली समृद्ध नेपाल साकार पार्न सरकार सफल हुने अपेक्षा गरेको छु,’ उनले भनिन्। संघीय राजधानीसमेत रहेको बागमती प्रदेशमा पशुपतिनाथ, बौद्धनाथ, स्वयंभूलगायतका धार्मिक तथा सांस्कृतिक क्षेत्रको विकास गरी पर्यटन क्षेत्रलाई विकास गर्नुपर्ने उनले बताइन्। ‘विश्वव्यापी रूपमा पर्यावरणमा प्रतिकूल प्रभाव परेकाले जलवायु परिवर्तन भई जैविक विविधता संकटमा पर्दै आएको छ,’ उनले भनिन्, ‘चुरे क्षेत्र अति संवेदनशील रहेकाले जीव र वनस्पति संरक्षण गर्न वातावरणीय सन्तुलन काम गर्नुपर्ने खाँचो छ।’

वन, खानेपानी, ताल तलैया जस्ता पर्यावरणमैत्री संरचनाको विस्तार गर्न सरकार र सम्बन्धित निकायलाई उनले ध्यानाकर्षण पनि गराइन्। प्रदेश सरकारहरूले वातावरणीय सन्तुलन तथा कमजोर चुरे क्षेत्रको संरक्षणमा विशेष ध्यान दिनुपर्ने भन्दै उनले प्रदेशभित्र पर्यावरणमैत्री संरचनासँगै जनस्वास्थ्य, गुणस्तरीय शैक्षिक संस्थाको स्थापना र विकासमा प्रदेश सरकार गम्भीर हुनुपर्नेमा जोड दिइन्। नागरिक दैनिकबाट

Featured