देश

सीमामा खटियो संयुक्त टोली

धनगढी, माघ १५–कैलाली र कञ्चनपुरको सीमा विवाद समाधानका लागि तेस्रोपल्ट संयुक्त सर्भे टोली खटिएको छ। यसअघि दुईपल्ट गठित सर्भे टोलीले सामान्य अवलोकनबाहेक केही गर्न सकेको थिएन। यसपालि पनि खासै प्रगति नहुने टोलीमा खटिएका अधिकारीले बताएका छन् । माघ ३ गते भारतको उत्तराखण्ड राज्यको बनबासामा दुवै देशका सुरक्षा र सीमा अधिकारीको बैठकले संयुक्त सीमा सर्भे आरम्भ गरेको थियो। दुई वर्षदेखि कैलाली, कञ्चनपुर, बैतडी, दार्चुला र डडेल्धुराको सिमाना मात्रै हेर्ने गरी चौथो संयुक्त सीमा सर्भे टोली गठन हुँदै आएको छ ।

आव ०७४/७५ मा प्रमुख नापी अधिकृत सुदर्शन धामीको नेतृत्वको टोली र २०७५/७६ मा प्रमुख नापी अधिकृत जनकराज भट्टको नेतृत्वमा रहेको सीमा सर्भे टोलीले सीमा व्यवस्थापन टुंगाउन सकेको थिएन। यसपल्ट पनि प्रमुख नापी अधिकृत जनक भण्डारीको नेतृत्वमा टोली गठन भई सर्भेमा खटिएको छ। भारतका तर्फबाट पनि नापी टोली गठन भएको छ।

दुवै टोलीलाई नयाँ पिलर निर्माण, भत्किएका पिलर मर्मत र सीमा विवाद भएका स्थानको रेकी गर्ने जिम्मेवारी छ। जोर नम्बरका पिलर भारतले र बिजोर पिलर नेपालले मर्मत गर्नुुपर्ने कार्यादेश छ। कैलालीको सीमा स्तम्भ नम्बर ७०० (साविकको ९८) देखि कञ्चनपुरको ब्रह्मदेव सीमा स्तम्भ नम्बर ८११ सम्म (साविकको २१०) को जिम्मेवारी पाएको संयुक्त सीमा सर्भे टोली नम्बर ४ ले कैलालीकै फूलबारीमा सीमा स्तम्भको टुंगो लगाउन सकेको छैन ।

गत वर्ष फूलबारीमा सर्भे टोलीले नेपालीले चर्चेको भूभाग भारतमा पर्ने भनेपछि विवाद देखिएको थियो। ‘यसपालि पनि खासै प्रगति होला जस्तो छैन । तैपनि हामी रेकीमा गएका छौं’, संयुक्त सीमा सर्भे टोलीका संयोजक जनक भण्डारीले भने। धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा सीमा विवादकै कारण ६ वटा पिलर निर्माण गर्न सकिएको छैन। फूलबारीमा सीमा स्तम्भ हराएका छन् । ती सबै सीमा स्तम्भ सार्दा र पुनर्निर्माण गर्दा नेपालीले भोग चलन गरिरहको भूमि भारततर्फ जाने देखिएपछि स्थानीयले विरोध जनाएका थिए। अन्नपूर्ण पोष्टबाट

Featured