देश

उच्च अदालत बुटवलको गेटबाटै पक्राउ परे विप्लवका नेताहरू

बुटवल, माघ १४–प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई जना नेतालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार बुटवलस्थित उच्च अदालत बुटवल इजालसबाट बालकृष्ण शर्मा र प्रदीपबहादुर वलीलाई पक्राउ गरेको हो । शर्मा र वलीलाई रिहाको आदेश दिए पनि प्रहरीले अदालतको गेटबाटै पुनः पक्राउ गरेको हो ।

गत असोज २९ गते दाङबाट पक्राउ परेका सो पार्टीका २१ जना कार्यकर्तामध्ये २ जना शर्मा र वलीलाई माघ ८ गते जिल्ला अदालत दाङले धरौटीमा रिहा गरे पनि तत्कालै उनलाई प्रहरीले पक्राउ गरेको थियो । आज पक्राउ परेका शर्मा र वलीलाई इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको छ ।

शर्मा र वलीलाई नवलपरासीमा प्रहरीलाई अभद्र व्यवहार गरेको मुद्दा दायर गरिएको थियो । नवलपरासीमा गरिएको मुद्दा झुटा र थुना गैरकानुनी रहेको भन्दै डिल्लीबहादुर वलीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए । रिटमाथि वादीको तर्फबाट वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, वरिष्ठ अधिवक्ता दिलबहादुर सहनी, वरिष्ठ अधिवक्ता प्रदीप धिताल, अधिवक्ता ज्ञानु केसी र अधिवक्ता कुलबहादुर डाँगीले बहस गरेका थिए ।

Featured