देश

जिल्ला न्यायाधीशका ११ विवादित फैसला

जनकपुर, माघ १४–आर्थिक लेनदेन गर्नेदेखि आचरणमै प्रश्न उठेका महोत्तरी जिल्ला अदालतका न्यायाधीश श्यामसुन्दर अधिकारीलाई न्याय परिषद् सचिवालयमा तानिएको छ । लेनदेन, अंश र कुटपिट मुद्दामा आर्थिक चलखेल गरेको र कार्यक्षमता अभाव देखिएको भन्दै जिल्ला बार एसोसिएसन महोत्तरीले नै इजलास बहिष्कारको निर्णय गरेपछि परिषदले न्यायाधीश अधिकारीलाई जिल्लाबाट तानेको हो । न्यायाधीशमाथि परिषद्ले छानबिन भने अझै अघि बढाएको छैन ।

कानुन व्यवसायी विजय ठाकुरका अनुसार भन्सार सम्बन्धित विदेशी मुद्रा अपचलन मुद्दामा विगोबमोजिम धरौटी लिएर रिहा गर्नुपर्ने कानुनी व्यवस्था नै छ । तर उनले एउटा मुद्दामा विगोबमोजिम नलिएर ३ गुणा धरौटी लिएका छन् । एउटा ज्यान मार्ने उद्योगको मुद्दामा उच्च अदालत जनकपुरबाट कुटपिट मुद्दामा परिणत गरिएको थियो ।

खुट्टामा सामान्य चोटपटक लागेको सरकारी अस्पतालको मेडिकल रिपोर्टसमेत रहेको मुद्दामा मुख्य अभियुक्तलाई सफाइ दिएको तथा फरार रहेका सहायक अभियुक्तपछि हाजिर हुँदा उनलाई २ लाख रुपैयाँ धरौटी लिएर छाडिएको थियो । खुट्टामा सामान्य चोट भन्ने सरकारी अस्पतालको रिपोर्ट हुँदाहुँदै पनि न्यायाधीश अधिकारीले त्यस्तो आदेश गरेका छन् ।

एउटा अर्को चोटपटकको मुद्दामा सरकारी अस्पतालको रिपोर्ट लेसरेसन (खोस्रिएको) अवस्थामा ६ जना अभियुक्तलाई जनही १५ दिन कैद तथा ५ सय रुपैयाँ जरिवाना गरेका छन् । महोत्तरीकै गौशालाको एउटा ज्यान मुद्दामा गरेको आदेश पनि विवादास्पद छ । त्यस मुद्दामा जाहेरी पनि छैन, सरकारी अस्पतालको पोस्टमार्टम रिपोर्टमा पनि विष सेवनबाट मृत्यु भएको भनेको छ ।

Featured