देश

प्रदेश १ मा सुर्तीजन्य पदार्थ नियन्त्रण अभियान सुरु

विराटनगर, माघ १४–सामाजिक विकास मन्त्रालयले प्रदेश १ मा सुर्तीजन्य पदार्थलाई पूर्ण रूपमा नियन्त्रण गर्न अभियान सुरु गरेको छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज आयोजित कार्यक्रममा ‘ब्यानर वाचन’ गरी अभियानको शुभारम्भ गरे । ‘सुर्तीजन्य पदार्थ होइन, स्वस्थ जीवन रोजौं’ भन्ने नाराका साथ सुरु भएको सो अभियानअन्तर्गत आगामी चैत मसान्तभित्र प्रदेशमा सुर्तीजन्य पदार्थ पूर्ण रूपमा नियन्त्रण गर्ने मन्त्रालयले जनाएको छ ।

सरकारी कार्यालयको १ सय मिटरमा सो पदार्थ बिक्री वितरण गर्न निषेध गरिएको र यही माघ महिनाभित्रमा विराटनगर महानगरपालिका क्षेत्रभित्र पर्ने शैक्षिक संस्था, अस्पताल र सार्वजनिक स्थानमा नियम लागू गरिसक्ने महानगरपालिका प्रमुख भीम पराजुलीले जानकारी दिए । ‘सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन २०६८’का प्रावधान कार्यान्वयनमा ल्याइएको छ । सामाजिक विकासमन्त्री जीवन घिमिरेले सुर्तीजन्य पदार्थ सेवनले मानिसलाई लाभभन्दा पनि हानि बढी गर्ने भएकाले यसतर्फ सेवनकर्ता चनाखो हुनुपर्ने बताए । अभियानले प्रदेश १ का सबै मन्त्रालयमा सुर्तीजन्य पदार्थविरुद्धको ब्यानर टास्ने काम सम्पन्न गरेको छ । रासस

Featured