देश

भारतबाट अवैधरूपमा नेपाल ल्याइएको पाँच किलो चाँदीको गहना सहित एकजना पक्राउ

बाँके, साउन १४- भारतबाट अवैधरूपमा नेपाल तर्फ ल्याउँदै गरेको ठूलो मात्रामा चाँदीको गर गहनासहित प्रहरीले बाँकेबाट एक जनालाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा सोमबार साँझ नेपालगञ्ज उपमहानगरपालिका–८ टाँगास्टेशन नजिकबाट पाँच किलो चार सय ९५ ग्राम चाँदीका गहनासहित गुलरिया नगरपालिका–६ बर्दियाका ३१ वर्षीय सुभाष गुप्तालाई पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिए। ३१ वर्षीय गुप्ता नेपालगञ्जको देवाफूलबारीमा कोठा भाडामा बस्दै आएका थिए।

विशेष जाँचका क्रममा गुप्ताको झोलामा गरगहना फेला पारेपछि सुनचाँदी व्यवसायी सङ्घ बाँकेमा परीक्षण गरिएको थियो। पाँच किलो ४९५ ग्राम धातुमध्ये परीक्षणपछि दुई किलो ७१७ ग्राम ५०० मिलीग्राम चाँदी रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

गुप्तालाई आवश्यक कारवाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरी उपरीक्षक वलीले जानकारी दिए।

Featured