देश

एलआईसी इन्डिया टाटपल्टिने अवस्था, ‘भ्रामक’ भन्दै एलआईसी नेपालले ढाँट्यो

काठमाडौं, माघ १४–लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले एलआईसी इन्डिया डुब्दै छ भनी प्रकाशित सत्य समाचारलाई ‘भ्रामक’ भन्दै ढाँटेको छ। विभिन्न सञ्चारमाध्यमले एलआईसी इन्डिया डुब्दै छ भनी आइतबार र सोमबार प्रकाशन गरेको समाचारको खण्डन गर्दै एलआईसी नेपालले एक विज्ञप्ति प्रकाशित गरी खण्डन गरेको थियो। भारतीय दल कांग्रेस आईका अध्यक्ष, प्रभावशाली नेता दिग्विजय सिंहलगायतका भनाइ उद्धृत गर्दै सो समाचार प्रकाशित गरेका छन् । एलआईसी इन्डियाबारे भारतीय कांग्रेसका वरिष्ठ नेता दिग्विजय सिंहले नरेन्द्र मोदी सरकारको गलत नीतिका कारण कम्पनी धराशयी भएको टिप्पणी गरेका छन्।

‘केन्द्रको नीतिका कारण एलआईसी समस्याग्रस्त बनेको छ।’ –नेता सिंहको भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको छ। एलआईसीका संघीय अध्यक्ष देवीशंकर शुक्लाको तर्फबाट सिंहले भोपालस्थित कांग्रेस पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै एलआईसी समस्याग्रस्त बनेको दाबी गरेका टाइम्सले लेखेको छ। यसअघि कांग्रेस अध्यक्ष गान्धीले पनि नरेन्द्र मोदी नेतृत्वको सरकारको नीतिका कारण एलआईसीमा नोक्सानी पुगेको र कम्पनीप्रति नागरिकको विश्वास गुम्दै गएको टिप्पणी गरेको समाचार प्रकाशित भइसकेको छ।

यस्तै, एसिया टाइम्सले पनि कम्पनी डुब्न लागेको समाचार प्रकाशित गरेको छ। टाइम्सले भनेको छ, सेप्टेम्बर २०१९ को विवरणअनुसार कम्पनीको खराब डेब्ट्स ६ दशमलव १ प्रतिशत रहेको छ। अन्य वित्तीय सूचकहरू समेत नकारात्मक देखिएको भन्दै यसबाट कम्पनी खस्कँदो अवस्थामा झरेको उसले जनाएको छ। विगत पाँच वर्षदेखि कम्पनीको पोलिसी होल्डरको संख्या समेत घट्दो दरमा रहेको टाइम्स अफ इन्डियाले समाचार प्रकाशन गरेको छ। लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल)मा लगानी गरेका लगानीकर्ताहरू यसबाट सशंकित बनेका छन्। भारतीय लगानी आधाभन्दा बढी रहेकाले त्यो संस्था बन्द भएमा आफूहरूको लगानी खेर जाने चिन्तामा लगानीकर्ता छन् ।

यस्तै नेपालस्थित कम्पनीमा बीमा गराएका बिमितहरू पनि ससंकित बनेका छन्। भारतीय सञ्चारमाध्यममा यससम्बन्धी थुप्रै समाचार प्रकाशित भइसकेका छन्। यसको लगानी रहेको कम्पनीलाई पर्ने असरबारे नेपाल समाचारपत्रले समाचार बनाउँदा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) ले खण्डन गरेको छ। आधाभन्दा बढी लगानी रहेको कम्पनी डुब्न लागेको स्पष्ट देखिएकोबारे एलआइसी नेपाल अनभिज्ञ जस्तो बनी समाचारको खण्डन गरेको हो। नेपाल समाचारपत्र दैनिकबाट

Featured