देश

पाँच रुपैयाँ तिराउन ११ वर्षपछि प्रहरीले पक्राउ गरी अदालत पुर्याएपछि !

वीरगंज, माघ १४–बढ्दो महँगीसँगै अहिले बजारमा कम्तिमा २० रुपैयाँ भन्दा तलको रुपैयाँले खासै अर्थ राख्दैन । अहिले त बालबच्चालाई फकाउन पनि कम्तिमा ५० रुपैयाँ चाहिन्छ । त्यसमा पाँच रुपैयाँको के महत्व ! तर कहिलेकाँही सानै रकमले पनि मानिसलाई जेलको हावा खुवाउँछ । भनिन्छ नि, ‘नपत्याउने खोलाले बगाउँछ’ । हो यस्तै भएको छ । पाँच रुपैयाँको कारण एक जनाले प्रहरीको नियन्त्रणमा अदालत जानु परेको छ । मानिसले लाखौं कारोबार गर्दा त रकम फिर्ता नआउँदा हत्तपत्त प्रहरीको जान्नन् । पाँच रुपैयाँको लागि कसैले मुद्दा मामिला गर्छ होला र ? सहजै पत्याउन सकिँदैन ।

यस्ता घटना प्राय भारतमै हुन्छन् । तर यसपटक भने नेपालमै यस्तो अचम्मको घटना भएको छ । सुन्दा कसैले पत्याउन नसक्ने तर पाँच रुपैयाँ असुल उपरका लागि प्रहरीले एकजनालाई पक्राउ गरी अदालतसम्म पुर्याएको छ । सोमबार जिल्ला प्रहरी बाराले पचरौता नगरपालिका–४ गुलरिया बस्ने ६० वर्षीय नागेन्द्र महरालाई पक्राउ गरेको हो । पक्राउपछि जरिमाना भुक्तानका लागि उनलाई प्रहरीले अदालत पुर्र्याएको थियो । स्थानीय नवाब ठाकुर लोहारको जाहेरीले अदालतमा दर्ता भएको जालसाजी मुद्दामा महरालाई ५ रुपैया“ दण्ड सजाय भएको थियो ।

२०६५ माघ २७ गते अदालतले महरालाई दोषी ठहर गर्दै ५ रुपैया“ जरिमाना लगाएको थियो । अदालतले लगाएको दण्ड जरिवाना नतिरी महरा फरार रहेका थिए । उनलाई प्रहरी चौकी बेल्दारीबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरी अदालत समक्ष उपस्थित गराएको बारा जिल्ला अदालतका उपसचिव कौशलेश्वर ज्ञवालीले जानकारी दिए । अदालतमा कायम रहेको मुद्दा नं. १४३२ अनुसार महरा फरार सूचीमा रहेको देखिएपछि प्रहरीले पक्राउ गरेको उनले जानकारी दिए । त्यस्तै सार्वजनिक अपराध मुद्दामा फरार रहेका साविक रामपुर टोकनी गाविस १ हाल परवानीपुर गाउपालिका २ बस्ने ३२ वर्षिय मुकेस साहलाई पनि प्रहरीले पक्राउ गरी अदालतमा उपस्थित गरायो ।

साहलाई उक्त मुद्दामा अदालतले १ हजार रुपैयाँ दण्डसजाय तोकेको थियो । तोकिएको दण्डजरिवाना नतिरी उनी फरार भएका थिए । फरार सूचीमा रहेका साहलाई खोजतलास गरी प्रहरीले घरबाटै पक्राउ गरी अदालतमा ल्याएको उपसचिव ज्ञवालीले बताए । प्रहरीले ५ रुपैया“देखि एक हजार रुपैया“ जरिमा तोकिएका व्यक्तिलाई पक्राउ गर्ने कार्यलाई तीव्र बनाएको छ,’ उनले भने, ‘सजाय पाएका कोही व्यक्ती अब उम्कीन पाउँदैन ।’ जहाँ लुके पनि प्रहरीले पक्राउ गर्ने उनले बताए ।

Featured