देश राजनीति

बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षबीच छलफल

काठमाडौं, माघ ११–सरकार, सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरवहादुर देउवाबीच मुलुकको समसामयिक राजनीतिक परिस्थितिका विषयमा छलफल भएको बताइएको छ । नेताहरूबीच मुलुक सञ्चालन गर्दा साझा सहमति र सहकार्यका आधारमा अगाडि बढ्ने सहमति भएको छ ।

छलफलमा सहभागी नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले मुलुक सञ्चालन गर्दा कतिपय कुरा प्रतिपक्षसँग पनि मिलेर गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले प्रतिपक्ष दलका नेतासँग छलफल गरेको जानकारी दिए । उनका अनुसार संसद् सञ्चालनदेखि राजनीतिक नियुक्तिसम्म सबै सहमतिका आधारमा गर्ने सहमति भएको छ । प्रधानमन्त्रीले बोलाएको बैठकमा संसद सञ्चालन र विश्वविद्यालयमा नियुक्तिबारे छलफल भएको कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले उल्लेख गरे । आइतबार प्रतिनिधिसभाको सभामुख निर्वाचन हुँदैछ । सभामुखका लागि नेकपाका अग्नि सापकोटाको मात्रै उम्मेदवारी परेको छ । सभामुख घोषणा भएपछि कसरी अगाडि बढ्ने भन्नेबारे दुवै दलबीच छलफल भएको हो ।

Featured