देश

सुर्खेतका बाढीपीडितको दोस्रो किस्ता रोकियो

सुर्खेत, माघ १०–कर्णाली प्रदेशको आर्थिक योजना मन्त्रालयले निकासा नदिएपछि बाढी र पहिरोबाट घरबारविहीन भएका पीडितले पाउनुपर्ने दोस्रो किस्ताबापतको रकम वितरण रोकिएको छ । दोस्रो किस्ताबापत प्रतिपरिवार १ लाख ५० हजार दिने घोषणा भए पनि मन्त्रालयले कार्यविधिमा समस्या देखाउँदै रकमको अख्तियारी नदिएपछि राहत रकम रोकिएको हो ।

प्रदेश सरकारले सुर्खेतसहित कर्णालीमा बाढीपहिरोबाट घरबारविहिन भएकालाई राहतस्वरुप प्रतिपरिवार ३ लाख दिने निर्णय गरेको थियो । निर्णयअनुसार मापदण्डमा परेका ६ सय १४ घरपरिवारलाई गत वर्ष पहिलो किस्ता वितरण गरिएको थियो ।

यस वर्ष दोस्रो किस्ता वितरण गर्ने तयारी थियो । तर, खर्चको अख्तियारी दिने आर्थिक योजना मन्त्रालयले सैद्धान्तिक समस्या देखाउँदै बजेट रोकेपछि दोस्रो किस्ता वितरण रोकिएको हो । आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बजेटको सीमाभित्र रहेर आर्थिक योजना मन्त्रालयमा पठाए पनि निकासा नहुँदा दोस्रो किस्ता रकम वितरण हुन नसकेको जनाएको छ ।

Featured