देश

कांग्रेसको संस्थापन र असन्तुष्टपक्षबीचको विवाद टुंगियो

काठमाडौं, माघ १०–नेपाली कांग्रेसमा संस्थापन पक्ष र असन्तुष्ट पक्षबीच देखिएको विवाद र असहमति टुंगिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रबार बिहान १० देखि साँझ साढे ४ बजेसम्म शीर्ष नेताहरूबीच भएको बैठकले ११ पुसमा भएको केन्द्रीय कार्यसमितिको बैठकले गरेको निर्णयबमोजिम नै पार्टीको १४औं महाधिवेशन ७–१० फागुन २०७७ मा हुने भएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले २६ मंसिरमा बोलाएको पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा १४औं महाधिवेशनको कार्यतालिका पेश नगरेको भन्दै असन्तुष्ट नेताहरू रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाले बहिष्कार गर्दै आएका थिए । आजको बैठकमा शीर्ष नेताबीच भएको सहमतिलाई बैधानिकता दिन १३ माघमा केन्द्रीय कार्यसमितिको बैठक बोलाउने सहमति भएको छ । बैठकमा देउवा, पौडेल, डा. शशांक, पूर्णबहादुर खड्का, सिंह र सिटौलाको उपस्थिति थियो ।

अनौपचारिक बैठकमा नेपाल विद्यार्थी संघको विषयमा भने कुनै सहमति नभएकाले आइतबार फेरि अनौपचारिक बैठक गर्ने सहमति भएको छ । महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिन समिति गठन गर्ने विषयमा समेत सहमति भएको सहभागी सिटौलाले जनाए । असन्तुष्ट पक्षले बहिष्कार गरे पनि सभापति शेरबहादुर देउवाले ११ पुसको केन्द्रीय कार्यसमितिको निर्णयमार्फत पार्टीको महाधिवेशन ७–१० फागुन २०७७ मा गर्ने, पार्टीका सबै संरचना र पदाधिकारीको पदावधि एक वर्ष थप गर्ने, विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने निर्णय गराएका थिए ।

Featured