देश राजनीति

सापकोटामाथि कुनै मुद्दा छैन :प्रचण्ड

चितवन, माघ १०–पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी नेता अग्नि सापकोटामाथि कुनै मुद्दा नरहेको बताएका छन् । भरतपुरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सापकोटामाथि मुद्दा छ भनेर गरिएको प्रचार असत्य भएको बताए । प्रतिनिधिसभाको सभामुख पदमा नेकपाबाट सिफारिस भई मनोनयन दर्ता भएका सापकोटाविरूद्धमा मुद्दा भएको सन्दर्भमा सोधिएको प्रश्नमा दाहालले भने, ‘मैले पटकपटक भनिरहेको छु, अग्नि सापकोटामाथि कुनै मुद्दा छैन ।‘ सिङ्गै संसद्ले उहाँलाई स्वीकार गरिसकेको भन्दै उनले थपे, ‘उहाँको पक्षमा राष्ट्र एक ठाउँमा उभिइसक्यो, यो विषयलाई अनावश्यक रूपमा प्रचार गर्नु कुनै औचित्य छैन ।’

दाहालको गृहजिल्ला चितवनमा केही समययता प्रहरी प्रमुखविहीन भएको सन्दर्भमा सोधिएको प्रश्नमा उनले सरकारले आफ्नो अनुकूलतामा प्रहरी प्रमुख पठाउने बताए । प्रहरी प्रमुखको आउनेकुरा सरकारले नै भन्ने उनले बताए । दाहाल नवलपरासीमा हुने दुई कार्यक्रममा सहभागी हुन चितवन पुगेका हुन् । रासस

Featured