देश

माघमा नहुने कार्यक्रमको रकम फिर्ता गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं, माघ ८–सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रालय र मातहतका निकायलाई माघ महिनाभित्र गर्नुपर्ने भनी तोकिएका काम अघि नबढेमा बजेट फिर्ता हुने बताएका छन् । सञ्चार मन्त्रालय र सम्बन्धित निकायको आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालन गरिने कार्यक्रमको आज सिंहदरबारमा सम्पन्न अर्धवार्षिक समीक्षा बैठकमा मन्त्री बाँस्कोटाले वार्षिक कार्यक्रममा रहेकामध्ये हालसम्म खर्च हुन नसकेको वा हुन नसक्ने अवस्थामा रहेका बजेट रकम फिर्ता गर्न निर्देशन दिए ।

त्यसरी बाँकी देखिएका रकम अन्य सेवा र कार्यक्रममा लगाउन सकिने बताउँदै उनले सुरुआत नै गर्न नसकिएका कामको बजेट कायम राखेर जाम गर्नु अनुचित हुने र त्यस्तो गर्ने निकाय वा विभागीय प्रमुखलाई विभागीय कारबाही गरिने स्पष्ट गरे । उनले रेडियो नेपालको जग्गा नेपाल दूरसञ्चार प्राधिकरणलाई बिक्री गर्ने निर्णय कार्यान्वयनमा भएको ढिलाइबारे एक साताभित्र टुङ्गो लगाउन, सामाजिक सञ्जाल फेसबुक आदिबाट भइरहेको खर्च र आम्दानीमा राजस्व र करका सम्बन्धमा रायसुझाव दिन अध्ययन समिति गठन गर्न र नेपाल टेलिभिजनको अङ्ग्रेजी वर्ल्ड च्यानल सञ्चालनको खाका ल्याउन नेपाल टेलिभिजनका पदाधिकारीलाई निर्देशन दिए ।

बैठकमा मन्त्रालयसँग सम्बन्धित विभिन्न निकायमध्ये चारबाहेक अन्य निकायले अर्धवार्षिक समीक्षा प्रस्तुत गरेका थिए । मन्त्रालयका सहसचिव राधिका अर्यालले प्रस्तुत गरेको विवरणमा सो मन्त्रालयको चालू आवका लागि विनियोजित बजेटमध्ये हालसम्म चालूतर्फ ४५.४१ र पूँजीगतमा २४.०८ प्रतिशत मात्र खर्च हुन सकेकोे जनाइएको छ । रासस

Featured